• १९ वैशाख २०८१, बुधबार

कसरी घटाउने सडक दुर्घटना

blog

नेपालमा हुने सडक दुर्घटनाको डरलाग्दो विवरण सार्वजनिक हुन थालेको छ । राष्ट्रिय दैनिकमा उल्लेख गरिएको विवरण अनुसार नेपालमा दैनिक सात जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको, दैनिक सरदार ६५ वटा सवारी दुर्घटना हुने गरेको, प्रतिदिन ८३ जना कुनै न कुनै किसिमको घाइते हुने गरेको पाइयो । यो विवरण नेपालमा सडक यातायात नागरिकको मृत्यु हुनुको प्रमुख कारण रहेको र ती दुर्घटनाले दुर्घटनामा परेकाको परिवारमा कतिसम्म सामाजिक, आर्थिक र मनोवैज्ञानिक असर पारेको होला बताउन काफी छ ।

आजभोलि सडक दुर्घटनासम्बन्धी समाचार दैनिक रूपमा सुन्नु र पढ्नु सामान्य जस्तो भएको छ । अझ भनौँ, फलानो मान्छेको फलानो दुर्घटनामा परेर घाइते वा मृत्यु भयो भन्ने सुन्नु सामान्य जस्तो भएको छ । उदेकलाग्दो कुरा त कहीँ कतै दुर्भाग्यवश हवाईजहाज दुर्घटना भयो भने राज्यले शोक मनाउँछ (एकचोटि त सार्वजनिक बिदा पनि दिएको हो) । सडक दुर्घटनाले राज्यको ध्यान आकर्षित गरेको देखिँदैन । चाहे दुर्घटना सडक यातायातले भएको होस् वा हवाई यातयातले मान्छेको मृत्यु वा घाइते हुनु आफैँमा दुःखदायी हो । जसरी हवाई दुर्घटनामा जाँचबुझ गर्न समिति बनाइन्छ, समितिले तयार पारेको प्रतिवेदन अनुसार दोषीउपर कारबाही गरिन्छ, त्यसरी पनि सडक दुर्घटनालाई हल्का रूपमा नलिई किन, कसरी भयो भन्ने कुराको छानबिन गरी दोषीलाई कारबाही गर्नु पर्छ ।

नेपाल भू–परिवेष्टित राष्ट्र हुनुको कारण यहाँ यातायातका प्रमुख चार माध्यम : सडक, हवाई, रेल र पानीमध्ये सडक र हवाई माध्यम मुख्यतः प्रयोगमा छन् र सम्भव पनि छ । एउटा सामान्य र बहुसङ्ख्यक नागरिकको यातायातको प्रमुख माध्यम सडक यातायात नै हो । हवाई यातायातको प्रयोग सामन्यतया धनी, जागिरे र व्यवसायीले गर्छन् । यद्यपि नेपाल जस्तो जटिल भूबनोट र मौसम भएको देशमा वर्षभरि यातायातमा पहुँच पु¥याउने सडक यातायात नै हो ।

कहिले दुई वटा गाडी आपसमा ठोकिएर, कहिले गाडी पल्टिएर, कहिले गाडीको ब्रेक फेल भएर, कहिले ड्राइभर निदाएर, आफ्नो सुरमा हिँडेकोलाई पछाडिबाट ठक्कर हानेर, पुल भाँचिएर वा भासिएर, असुरक्षित ओभरटेकिङ गर्दा, गाडीले किचेर, सडकको डिजाइन त्रुटिलगायतका कारणले दुर्घटना भएको सुनिन्छ । दुर्घटनाको कारण ठुला, साना वा अनुमान नै गर्न नसकिने हुन सक्छन् । सडक दुर्घटना हुनुमा मुख्य जिम्मेवार सडक आफैँ, ड्राइभर र सवारीसाधन हुन् ।

दुर्घटनाको कारण : सवारी चालक 

सवार गर्ने यात्रीलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्‍याउनु सवारी चालकको कर्तव्य हो । चालक निदाउँदा, मादक पदार्थ सेवन गरी अनियन्त्रित रूपमा सवारी चलाउँदा, पर्याप्त आरामबिना सवारी हाँक्दा सडक दुर्घटना हुन्छन् । त्यसै गरी सिकारु चालकले सवारी चलाउँदा र अनुभवीले पनि आवश्यक सडक अनुशासनबिना सवारी चलाउँदा पनि सडक दुर्घटना हुने गरेका छन् । गैरजिम्मेवार चालकले आफूसँगै अरूको ज्यान पनि जोखिममा पारिरहेका छन्; जुन अक्षम्य अपराध हो । हरेक सडक एउटा डिजाइन स्पिड (बढीमा कति गतिसम्म गाडी चलाउन पाइने) भन्ने आधारमा बनाइएको हुन्छ । सम्बन्धित सडकको डिजाइन स्पिड नाघेर साधन चलाउँदा धेरै जसो दुर्घटना हुने गरेका छन् ।

दुर्घटनाको कारण : सडक

नेपालमा थोरै सडक पक्की छन् भने धेरै कच्ची छन् । वर्ष दिन बिनारोकटोक साधन चलाउन सकिने पनि कमै छ । पहाडी क्षेत्रमा जटिल भूबनोटमा बनेका सडकमा साधन चलाउन जोखिमपूर्ण छ भने तराई क्षेत्रका सिधा सडकमा ओभरस्पिडिङ भएर दुर्घटना हुने गरेका छन् । आजभोलि पहाडतिर डोजरले खनेको सडकमा सवारीसाधन चलाउँदा दुर्घटना भइरहेका छन् । सडकको पूर्वाधार पूर्ण रूपमा निर्माण नभएसम्म साधन चलाउन रोक लगाउनु पर्छ । त्यसै गरी सडक निर्माण गर्दा भविष्यमा यी यी किसिमका सडक दुर्घटना हुन सक्छन् भन्ने कुराको आकलन गरी सकेसम्म दुर्घटनारहित बनाउने कोसिस गर्नु पर्छ ।

दुर्घटनाको कारण : साधन आफैँ 

ब्रेक फेल भएर, टायर पड्केर अथवा अन्य कुनै मेसिनरी समस्या भएर सडक दुर्घटना पनि हुने गरेको छ । पुरानाभन्दा पुराना सवारीसाधन प्रयोगमा ल्याउँदा यस्ता दुर्घटना हुनु स्वाभाविक नै देखिन्छ । नयाँ सवारीसाधन पनि सिकारु वा अनुभवहीनले चलाउँदा पनि दुर्घटना हुने सम्भावना उत्तिकै हुन्छ । दुर्घटना मुख्यतः सडक, साधन र चालकले गर्दा नै हुने हो । दुर्घटना चाहे जुनसुकै कारणले होस्, मान्छेको मृत्यु वा घाइते हुनु दुःखदायी कुरा हो । कुनै परिवारको कमाइ खाने व्यक्तिको मृत्युले त्यो परिवारको बिचल्ली हुने गर्छ । उनीहरूले लामो समयसम्म आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्या झेल्नु पर्छ । जतिसुकै आर्थिक रकमको क्षतिपूर्तिले मान्छेको मृत्युको भर्पाइ गर्न सक्दैन ।

सडक दुर्घटनालाई जिरो त पार्न नसकिएला तर गम्भीर घाइते वा मृत्युलाई अवश्य कम गर्न सकिन्छ । त्यसका लागि पहिलो, सडक दुर्घटनाका सम्भावित कारण बुझ्नुप¥यो र त्यसको काउन्टर गर्ने किसिमको न्यूनीकरणका योजना बनाउनुपर्‍यो, दोस्रो, पहिला भएका सडक दुर्घटनालाई राम्ररी अध्ययन अनुसन्धान गरी त्यसबाट पाठ सिक्नुपर्‍यो र तेस्रो, अब नयाँ निर्माण हुने सडक पूर्वाधारलाई सकेसम्म दुर्घटना न्यूनीकरण हुने किसिमले बनाउनुप¥यो र लापरबाही तरिकाले सडक दुर्घटना गराउनेलाई सख्त कारबाही गर्नुपर्‍यो ।

नेपालमा झन्डै ७७ हजार किमी सडक निर्माण भएको डाटा छ । सरकारले सडक निर्माणलाई तीव्र्रता दिएको नै छ । थुप्रै राष्ट्रिय गौरवका सडक योजना निर्माण हुने क्रममा छन् । नयाँ नयाँ प्रविधिमा आधारित लोभ लाग्ने किसिमको सडक निर्माण प्रविधि भित्रिएका छन् । सडकको विकास अरू सबै खाले विकासको प्रमुख आधार हो, त्यो विकास हुनै पर्छ तर सडक विकास हुँदै गर्दा के त्यो सडक प्रयोगकर्ताका लागि सुरक्षित छ ? सडक प्रयोगकर्तासँग पर्याप्त ट्राफिक ज्ञान छ कि छैन ? दुर्घटनाको प्रमुख कारक ओभरस्पिडिङ नियन्त्रणका लागि कुनै खालको विशेष संयन्त्र छ कि छैन ? त्यसमा ध्यान दिनु पर्छ । सडक आफैँमा विकासको पर्याय हो, व्यक्ति, परिवार, समाज अनि समग्र देशको विनाशको कारण बन्नुहुन्न ।    

Author

सिवेशकुमार सिंह