• २३ वैशाख २०८१, आइतबार

कोरिडोरले फेरियो जीवनशैली

blog

बोमलाल गिरी

नवलपुर, वैशाख ४ गते । नवलपुरको बुलिङटार–१ ढाँडबेसीका ३५ वर्षीय कुश माकिममगर चार वर्षअघि खाडी मुलुक साउदी अरब जानका लागि अन्तिम तयारीमा हुनुहुन्थ्यो । भिसा पनि आइसकेको थियो तर त्यहाँ रहेका नेपालीले पाएका दुःख, पीडा र सास्तीका समाचार सामाजिक सञ्जालमा देखेपछि अन्तिम समयमा उहाँको विदेश जाने मन फेरियो । 

उहाँले सानो रकम (१० हजार रुपियाँ) लगानी गरेर बाबु (दिलबहादुर माकिममगर) र छोराले ढाँडबेसीमै आफ्नै घरमा रेस्टुरेन्ट खोल्नुभयो । बाबुसँग डकर्मी र छोरोसँग रेस्टुरेन्टको सिप भएकाले कुनै बाहिरी मान्छे नहाली कटेजसहितको रेस्टुरेन्ट तयार भयो । कालीगण्डकी कोरिडोरको चहलपहलसँगै कुश माकिमको रेस्टुरेन्टको चहलपहल मात्र बढेन, उहाँको जीवनशैली बदलिएको छ । 

“अन्तिम समयमा आएर धन्न पासपोर्ट फ्याँकेर विदेश जाने निर्णय बदलेँ । अहिले यो बाटो हिँड्ने यात्रुको चहलपहलले रेस्टुरेन्ट फस्टाउँदै गएको छ,” कुश मामिकले भन्नुभयो, “हरेक वर्ष कमाएको पैसाले कटेज र सुत्ने कोठा थप्दै गएका छौँ । विदेशभन्दा यसैले बढी खुसी दिएको छ ।”

भारतीय ठेकेदार कम्पनी इकेके कन्स्ट्रक्सन प्रालिका आयोजना इन्जिनियर हेमराज ओलीका अनुसार नवलपुरबाट पहाडी पालिका बुलिङटार, डेढगाउँ, पाल्पाको रामपुर हुँदै पिपलडाँडा जोड्ने कालीगण्डकी कोरिडोरको पूर्वी खण्डको ९५ प्रतिशत बाटो सम्पन्न भइसकेको छ । 

गैँडाकोटको कालीगण्डकी चोकबाट सुरु भएर पिपलडाँडासम्म झन्डै १३२ किलोमिटर सडकको ९५ प्रतिशत काम सम्पन्न भएर कालोपत्रे भएको हो । यो कोरिडोरले कालीगण्डकी नदीको तीरैतीर भएर नवलपुरको गैँडाकोटदेखि पाल्पाको पिपलडाँडा पुगेर सिद्धार्थ राजमार्ग छुन्छ । 

पिपलडाँडाबाट राम्दीपुल तीन किलोमिटर, स्याङ्जाको गल्याङ साढे १७ किलोमिटर, पाल्पाको तानसेन बजार २८ किलोमिटर, बुटवल ६२ किलोमिटर र पोखरा ९५ किलोमिटर दुरीमा पर्छ । नारायणघाट–बुटवल सडकखण्ड र मुग्लिङ–पोखरा सडकखण्ड मर्मतका व्रmममा रहेकाले यात्रा गर्न कठिन हुँदा धेरै यात्रुका लागि कालीगण्डकी कोरिडोर अहिले वैकल्पिक मार्ग भएको छ । 

जसले गर्दा यहाँका स्थानीयको जीवनशैली परिवर्तन भएको बताउनुहुन्छ– बौदिकाली–२ का पूर्ववडाध्यक्ष एवं शिक्षक बालप्रसाद ठाडामगर । “सजिलै सहर जोडिएपछि शिक्षा र स्वास्थ्योपचारका लागि सहज भएको छ । स्थानीय कृषि उपजले राम्रो मूल्यसहितको बजार पाएको छ,” ठाडामगरले भन्नुभयो, “स्थानीयको आर्थिक उन्नति हुँदा जीवनशैली परिवर्तन भएको छ ।” बुलिङटार–२ का कृष्ण श्रेष्ठले लामो समयदेखि यही कोरिडोरको बाटो प्रतीक्षामा रहेका स्थानीयले आफ्नो थुपै्र जग्गा बाटोमा जाँदा पनि कुनै गुनासो नरहेको बताउनुभयो । बरु बाटोले धेरैलाई फाइदा भएको उहाँको भनाइ छ । 

यस कोरिडोरलाई भारत र चीन जोड्ने आर्थिक, सांस्कृतिक र पर्यटकीय महत्वको त्रिदेशीय पारवहन मार्गका रूपमा लिइएको छ । कोरिडोरको पहिलो खण्डले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने काम गरेको छ । २०७५ साल मङ्सिर १७ गतेदेखि सुरु गरिएको कालीगण्डकी कोरिडोर निर्माण २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने ठेक्का सम्झौता भए पनि कोरोनाका कारण एक वर्ष धकेलिएको थियो ।