• १९ वैशाख २०८१, बुधबार

नगरवासीलाई घरदैलौमै सेवा उपलब्ध गराउन एकीकृत घुम्ती शिविर

blog

एकीकृत घुम्ती शिविरबाट सेवा लिँदै सेवाग्राही । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण
महोत्तरी, वैशाख ३ गते । जिल्लाको मटिहानी नगरपालिकाले हरेक वर्ष झैँ यसवर्ष पनि नगरवासीलाई घरदैलौमा नै सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत घुम्ती शिविर प्रारम्भ गरेको छ ।

मटिहानी नगरपालिकाले पालिका र वडाहरूबाट प्रदान हुने सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध गर्ने गरी सोमबारदेखि एकीकृत घुम्ती सेवा प्रारम्भ गरेको हो ।

नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाको वडा नं. ५ गौबरौराबाट एकीकृत घुम्ती शिविरको प्रारम्भ गर्नुभएको जानकारी दिनुहुँदै यसले नगरवासीका गुनासोहरू समेत सुन्ने मौका मिल्ने र घरदैलौमै नगरवासीलाई सेवा उपलब्ध हुने बताउनुभयो ।

एकीकृत घुम्ती शिविरको उद्घाटन गर्नुहुँदै नगरप्रमुख मण्डलले पालिका र वडाबाट हुने सम्पूर्ण सेवा एकै ठाउँबाट दिँदा वृद्धवृद्धा, अपाङ्गता भएकाहरू बढी लाभान्वित हुने बताउनुभयो ।

उहाँले शिविरमा योजना सम्बन्धी अभिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, कृषि कार्यका लागि माटो परीक्षण तथा कृषि मिटर सिफारिस, तरकारीको मिनी किट वितरण,  गोबर र पशुहरूको गर्भ परीक्षण, पशुपन्क्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, गरिब परिचयपत्र वितरण, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरू एकै थलोबाट प्रदान गरिने बताउनुभयो ।

वडाहरू तथा पालिकाबाट नगरवासीहरूलाई सेवा प्रवाहमा भइरहेको कठिनाइ तथा नगरवासीको समस्या सुन्ने तथा तत्कालै समाधान हुन सक्ने समस्याहरूलाई समाधान गर्ने समेत लक्ष्य शिविरमा रहेको नगरप्रमुख मण्डलको भनाइ थियो ।

शिविरबाट सबै जनालाई लाभ लिन आग्रह गर्नुहुँदै नगरप्रमुख मण्डलले हरेक वर्ष झैँ यसवर्ष पनि एकीकृत घुम्ती शिविरलाई निरन्तरता दिइएको र आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो ।

एकीकृत घुम्ती शिविर शुभारम्भ कार्यक्रमको अध्यक्षता वडा नं.५ का वडाध्यक्ष मिश्री नायकले गर्नुभएको थियो भने कार्यक्रममा नगरपालिकाका उपप्रमुख मञ्जु देवी साह, वडा नं. १, ६, ७ र ८ का वडा अध्यक्षहरू क्रमशः शिवशङ्कर कुमार राय, कलीम अन्सारी, जितनारायन माझी, रितेश साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, योजना अधिकृत राजेश शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह, सम्पूर्ण शाखाका शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।