• १२ साउन २०८१, शनिबार

कार्यवाहक वडाध्यक्षको विवाद : ३८ दिनदेखि कामकाज ठप्प

blog

तामाकोशी गाउँपालिका वडा नम्बर ३ को कार्यालय । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले
चरीकोट, वैशाख ३ गते  । 
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको कामकाज ठप्प भएको ३८ दिन पुगेको छ । सो वडाका वडाध्यक्ष रामप्रसाद काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बनमा परेसँगै वडाको काम ठप्प भएको हो ।

अध्यक्ष काफ्ले निलम्बन परेको सोमबार ३८ दिन पुगेको छ । तर लामो समयसम्म कार्यवाहक वडाध्यक्षको जिम्मेवारीको विषयलाई लिएर  वडाध्यक्षले गर्ने सम्पूर्ण काम ठप्प भएको छ ।

गएको स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष काफ्ले, वडा सदस्य प्रचण्डदीप कार्की र विमला मिजार, नेकपा (माओवादी केन्द्र)बाट सदस्यमा देवी पोखरेल, नेकपा (एकीकृत समाजवादी) बाट सदस्यमा लीलामणि मोक्तान निर्वाचित हुनुभएको थियो ।

अध्यक्ष निलम्बन भएपछि कार्यवाहक वडाध्यक्षको जिम्मेवारीको विषयलाई लिएर वडा सदस्यबिच सहमति हुन सकेको छैन । वडा कार्यालयले पटक-पटक छलफल गर्दासमेत निर्णय हुन नसकेपछि वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको थियो ।

वडा र गाउँपालिका कार्यालयको दुई हप्ता तालाबन्दीपछि गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीको उपस्थितिमा चार जना वडा सदस्यलाई आलोपालो कार्यवाहक दिने सहमति गरिएको थियो ।

सहमति अनुसार वडा सदस्यहरू प्रचण्डदीप कार्कीलाई यही चैत १४ देखि २०८१ साल असार ३१ गतेसम्म, लीलामणि मोक्तानलाई साउन १ गतेदेखि असोज ३० गतेसम्म, देवी पोखरेललाई कात्तिक १ देखि पुस २९ गतेसम्म र विमला मिजारलाई माघ १ देखि चैत १ गतेसम्म कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकिएको थियो ।

सोही अनुसार तामाकोशी गाउँपालिका अध्यक्ष केसीले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गाउँपालिकाको कार्यालय र वडा नम्बर ३ को कार्यालयलाई बोधार्थ दिएर पत्र पठाउनुभएको थियो । सोही पत्रलाई आधार मानेर तामाकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमल निरौलाले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकेका वडा सदस्य प्रचण्ड दीप कार्कीको नमुना हस्ताक्षर लिएर जिल्ला प्रशासन कार्यालय दोलखामा पत्र पठाउनुभएको थियो । यसरी गाउँपालिका अध्यक्ष केसी र अधिकृत निरौलाले पत्र पठाए पनि चार जना वडा सदस्यबिच सहमति गर्नुपर्ने भएकाले वडा सदस्यहरू बिच सहमति जुट्न नसक्दा कामकाज हुन नसकेको तामाकोसी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले कार्यवाहक तोकेको विषयमा असहमति जनाउँदै वडा सदस्य लीलामणि मोक्तानले उच्च अदालत पाटनमा मुद्दा दर्ता गर्नुभएको थियो । उच्च अदालतले वडाको काम नगर्नु नगराउनु भने आदेश दिएसँगै वडाको काम रोकिएको गाउँपालिकाले जनाएको छ । अदालतको आदेशसँगै गाउँपालिकाले प्रतिवादी लगाउने गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले बताउनुभयो । वडाको काम चाँडोभन्दा चाँडो खुलाउन लागिपर्ने उहाँले बताउनुभयो ।

सो गाउँपालिकाका अध्यक्ष केसी र वडा सदस्य मोक्तान एउटै राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि भएकाले गाउँपालिका अध्यक्ष नै समस्याको समाधान गर्नुपर्ने स्थानीयहरूले बताएका छन् ।

वडाध्यक्षले वडा समितिबाट सिफारिस तथा प्रमाणित हुने कार्यमा नाता प्रमाणित गर्ने, नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने, जन्म मिति प्रमाणित गर्ने,  विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने, निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने, वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अङ्ग्रेजी भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने, व्यक्तिगत विवरण प्रमाणित गर्ने,  कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक–फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,  नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्नेलगायत काम पर्दछन्  ।

लामो समयदेखि सो वडामा वडाध्यक्षको सिफारिसमा हुने सम्पूर्ण काम ठप्प भएको छ । अध्ययन तथा रोजगारीको सिलसिलामा राजधानी काठमाडौँलगायत विभिन्न ठाउँमा पुगेकाहरू नागरिकताको सिफारिस नाता प्रमाणितलगायत विभिन्न सिफारिस  लिन आउनेहरू वडामा आउँदै फर्किँदै गरेको स्थानीयहरूले गुनासो गरेका छन् ।

खानेपानी योजना निर्माण समितिका अध्यक्ष यमबहादुर सार्कीले योजना सम्पन्न गरेको लामो समय भुक्तानी नहुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘काम सम्पन्न भएको छ, सम्पूर्ण कागपपत्र लिएर वडामा आएको वडामा कामकाज ठप्प हुँदा भुक्तानी लिन नसकिएको गुनासो गर्नुभयो ।’’