• २० वैशाख २०८१, बिहिबार

जिल्लामा मुद्दाको सङ्ख्या बढ्दै

blog

गन्यापधुरा गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, वैशाख २ गते  । जिल्ला प्रहरी कार्यालयमा उजुरी तथा मुद्दा दर्ताको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ८४ वटा उजुरी तथा मुद्दा दर्ता भएका छन् । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले गत वर्ष जम्मा ९९ वटा  दर्ता भएको जानकारी दिनुभयो । 

गन्यापधुरा गाउँपालिका मुकाम बडालमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले आठ महिनामै ८४ वटा मुद्दा दर्ता भएकाले मुद्दाको अनुपात हेर्दा यस वर्ष बढ्ने बताउनुभयो ।

८४ मुद्दामध्ये ४६ वटा मुद्दा फस्र्योट गरेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले शान्तिसुरक्षा, अपराध नियन्त्रण तथा अमनचयन कायम राख्ने विषयमा पालिकामा सुनुवाइ कार्यक्रम आयोजना गरेको हो । 

उहाँका अनुसार ज्यान मुद्दा, आत्महत्या, लडेर मृत्यु भएकाको घटनाका सम्बन्धमा कानुनी प्रक्रिया लम्बिने गरेको छ । बाँकी सामान्य जाहेरी भने फस्र्योट हुने गरेको बताइन्छ । 

ज्यानसम्बन्धी तथा लागुऔषध जस्ता मुद्दा दुई वर्षसम्म कुर्नुपर्ने भएकाले फस्र्योट हुन बाँकी देखिने गरेको उहाँले बताउनुभयो । जम्मा मुद्दामध्ये भवितव्य ज्यान मुद्दा बढी रहेको प्रहरीले जनाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कमा भवितव्य मुद्दाको सङ्ख्या नै बढी रहेको छ । त्यसमध्ये आत्महत्यासम्बन्धी मुद्दा बढी छन् । यस वर्षको आठ महिनामा झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या १३ पुगेको छ ।

यस्ता मुद्दाको सङ्ख्या गत वर्ष २६ थियो भने त्योभन्दा अघिल्लो वर्ष २२ थियो । यस वर्ष हालसम्म १० वटा घटना भएका छन् । लागुऔषधका मुद्दा बढेका छन् । यस वर्ष लागुऔषधसम्बन्धी १० वटा मुद्दा दर्ता भएका छन् । 

जबरजस्ती करणीका मुद्दा पनि बढेको उहाँले बताउनुभयो । यस वर्ष जबरजस्ती करणीका आठ वटा मुद्दा दर्ता गरिसकिएको उहाँले बताउनुभयो । जुवाका पाँच र कर्तव्य ज्यानसम्बन्धी तीन वटा मुद्दा दर्ता भएका छन् ।