सिराज खान 
नेपालगन्ज, वैशाख १ गते। नयाँ वर्ष २०८१ साल तथा खालसा सजना सिख धर्मको ३२५ औँ स्थापना दिवसको अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम गरिएको छ।
कार्यक्रममा गुरुद्वारा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र सिंह सरदारले राज्यले सिख समुदायलाई हेपाहको दृष्टिले हेरेको गुनासो गर्नुभयो।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सबैको सम्मान गर्न सके मात्र समाजमा शान्ति र सद्भाव कायम हुने भन्दै बाँकेमा सद्भाव कायम गर्नको लागि सिख समुदायको योगदानको चर्चा गर्नुभयो।
नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले उपमहानगरले सिख समुदायको सम्मान गर्दै समुदायले राखेका मागको सम्बोधन गर्ने तर्फ सकारात्मक रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री भण्डारीलाल अहिरले मानवले मानवताका लागि कुनै समुदाय जात जातिप्रति भेदभाव नगरी एकले अर्कालाई सम्मान गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो।
सिख समुदायको माग प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आफूले सिख समुदायको माग सम्बोधनका लागि पहल गर्ने बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                