• २० वैशाख २०८१, बिहिबार

कोशीको पूर्वी तटबन्ध किनारमा प्रोकोपाइन लगाइँदै

blog

सप्तकोशीको पूर्वी तटबन्ध किनारमा प्रोकोपाइन लागाइदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, वैशाख १ गते ।
 सप्तकोशी नदीमा वर्षामा आउने बाढीलाई लक्षित गरेर तटबन्धको सुरक्षाका लागि प्रोकोपाईन लगाउन सुरु गरिएको छ । पूर्वी तटबन्ध किनार क्षेत्रमा पानीको चाप पर्ने ठाउँहरूको पहिचान गरेर कोशी पोजेक्टले प्रोकोपाइन लगाउन थालेको हो ।

प्रत्येक वर्ष भारतीय कोशी पोजेक्टले कोशी किनार क्षेत्रमा वर्षा लाग्नु अगावै  प्रोकोपाइन लगाउँदै आएको छ । कोशी प्रोजेक्टअन्तर्गत भारतको जलसंशाधन पटना र विरपुरले कोशीको तटबन्ध र स्परहरुको मर्मतसंभार गर्दै आएको हो । वर्षा लाग्नु अगावै जलसंशाधनले ठेक्का लगाएर काम गराउँदै आएको छ । यस वर्ष पनि कोशी पोजेक्टले चक्रघट्टीको शुक्रबारेस्थित ५१ नम्बर स्परदेखि ठाकुरबारीको ३४ नम्बर स्परसम्मको भागमा प्रोकोपाइन लगादै आएको छ । १३ सय सेट प्रोकोपाइन लगाउन सुरु गरिएको प्रोकोपाइनमै काम गर्दै आउनु भएको महोन मण्डलले बताउनु भयो । 

मण्डका अनुसार नदी किनारको तटबन्ध जोगाउन बालुवा, गिटी, सिमेन्ट र रडको प्रयोग गरेर तिनवटा पिल्लरलाई त्रिभुज आकारमा नट बल्टुले कसेर बनाएको त्रिखुट्टी नदी किनारमा राखिँदै आएको छ । कोशीको पूर्वी तटबन्धमा चैतको अन्तिम हप्तादेखि प्रोकोपाईन लगाउन थालिएको हो । नदी किनार क्षेत्रमा प्रोकोपाइन लहरै हालेर बाँस अड्काएपछि बालुवा, गिटी, ढुङ्गा प्रोकोपाइनमुनि थिग्रिएर तटबन्धलाई मजबुत बनाउँदै आएको कोशी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘तटबन्धको सुरक्षा र नदीको धार परिवर्तन गर्न प्रोकोपाइन प्रभावकारी बनेको छ । नदीको किनारमा कटान र पानीको बेग रोक्न प्रोकोपाइन प्रभावकारी बनेको छ ।’’

प्रोकोपाइन लगाएको ठाउँमा बालुवाले भरिने भएको हुँदा जोखीम क्षेत्रमा प्रोकोपाइन लगाइने गरिएको राजाबास सबडिभिजन कार्यलयले जनाएको छ ।

तटबन्धलाई मजबुत बनाउन र कटान रोक्न राजाबास सबडिभिजनले २५ः५७, २४ः७८, २६ देखी २६ः४० सम्म प्रोकोपाइन लगाउन सुरु गरेको छ । प्रोकोपाइन स्पर अगाडि र तटबन्ध किनारमा लगाइने गरिएको छ ।  प्रोकोपाइन लगाइएका स्परहरुमा ग्रेगर जम्मा भएर उच्च हुँदा कोशीको धार परिवर्तन हुँदै आएको हो ।

कोशीमा बाढी आएको बेला धरहरा टपन क्षेत्रमा स्पर र तटबन्ध नजिकसम्म पानी आउने गरेको थियो । गत वर्ष स्पर अगाडि लगाइएको प्रोकोपाइनकै कारण कोसीको धार पश्चिमतर्फ परिवर्तन भएको छ । यस पटक पनि प्राय सबै स्पर अगाडि प्रोकोपाइन लगाइने काम भइरहेको भू आर्जन अधिकृत पौडेलले बताउनुभयो ।

गत वर्ष नदी किनारमा लगाइएको स्परहरुमै थप मजबुत बनाउन यस पटक पनि प्रोकोपाइन लगाइएको हो । चक्रघट्टी सबडिभिजनले पनि आवश्यक स्थानहरूमा प्रोकोपाइन पिल्लर लगाउँदै आएको महोन मण्डलले जानकारी दिनुभयो ।

सप्तकोशी नदी किनार क्षेत्रमा सन् २००९ देखि नै प्रोकोपाइन लागाइदै आएको छ । प्रत्येक वर्ष कटानको अवस्था हेरेर पुरानो र नयाँ ठाउँमा प्रोकोपाइन लगाउने गरिएको छ । कोशी प्रोजेक्टअन्तर्गत चक्र्रघट्टी सब डिभिजन, राजाबास सबडिभिजन, मधुवन सबडिभिजन, कुशाह सबडिभिजनले कोशी ब्यारेजदेखि चतरासम्म वरिष्ठ इन्जिनियर सहितको प्राविधिक टोलीको निगरानीमा तटबन्धको सुरक्षार्थ काम गर्दै आएको छ ।