• २८ वैशाख २०८१, शुक्रबार

कट्टेल चोकदेखि कट्टेल डाँडासम्म कालो पत्रे सुरु

blog

गुणबहादुर रोका
सुलीकोट, वैशाख १ गते । 
गोरखा सदरमुकामबाट नजिकै रहेको ऐतिहासिक तथा सु–प्रसिद्ध वैदिक थलोको रूपमा प्रख्यात ठाउँ गोरखा सदरमुकामबाट झण्डै दुई किलोमिटरको दूरीमा पर्ने कट्टेल चोक देखि कट्टेल डाँडासम्म सडक कालोपत्रे सुरु भएको छ ।

गोरखा सदरमुकामबाट दुई किलोमिटर सडक बाटो कालो पत्रे सुरु गरिएको पूर्वाधार कार्यालय गोरखाका निर्मित प्रमुख गणेश सुवेदीले जानकारी दिनु भयो ।

विशेष गरी गोरखा नगरपालिकाको लामो समयको प्रयास पछि अहिले आएर यस सडक कालोपत्रे सुरु गरिएको गोरखा नगरपालिका–८ स्थित कट्टेल डाँडाका स्थानीय बुद्धिजीवी रमेश कट्टेलले बताउनु भयो । भौतिक पूर्वाधार मन्त्रालयको बजेट अन्तर्गत पूर्वाधार कार्यालय गोरखामार्फत कालोपत्रे गरिएको हो ।

सडक कालोपत्रे योजनाका लागि कृषक एवन जेबी कम्पनीसँग २०८० साल वैशाख ११ गते सम्झौता भएर काम अघि बढेको  पूर्वाधार कार्यालय गोरखाका निर्मित प्रमुख गणेश सुबेदीले जानकारी दिनु भयो । २०८१ साल वैशाख ११ गते सम्पन्न गर्नु पर्ने कालोपत्रे सडकको काम समय सीमा भित्र सम्पन्न हुने उहाँको भनाइ छ ।

कट्टेल चोकदेखि कट्टेल डाँडा सम्म ऐतिहासिक महत्त्व राख्ने भएकाले यस सडकलाई कालो पत्रे गर्न गोरखा नगरपालिकाले विशेष महत्त्वका साथ योजना माग गरी बजेट पारिएको गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले जानकारी दिनु भयो ।

उहाँका अनुसार यस सडकले नजिकै रहेको सहिदलखन गाउँपालिकामा जान कट्टेलडाडाबाट असाध्यै नजिक भएकाले पनि सदरमुकाम र सहिदलखन गाउँपालिका जोड्ने कडीको रूपमा यस कालोपत्रे सडकले महत्त्व राख्ने विश्वास व्यक्त गर्नु भयो । यस सडकले गोरखा नगरपालिका र सहिदलखन गाउँपालिकासम्म सहजै व्यापार व्यवसाय हुने विश्वास लिइएको छ ।

बर्खामा हिलम्मै र हिउँदमा धुलोबाटो यात्रा गर्नु पर्ने बाध्यता अन्त्य हुने भएकाले सहिदलखन गाउँपालिकादेखि आमडाँडा, कट्टेलडाडाँ हुँदै गोरखा सदरमुकामसम्म सहजै यात्रा गर्न सकिने कट्टेलडाँडाका स्थानीय रमण कट्टेलले बताउनुभयो । 

पूर्वाधार कार्यालय गोरखाको चार करोड ११ लाख रुपियाँमा पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनी बिच २ किलो मिटर सडक कालो पत्रे र एक साइडमा नाली बनाउनु पर्ने सम्झौता उल्लेख छ । ३.७५ मिटर चौडाइ र २ किलोमिटर लम्बाई, सवबेश, सबग्रेड फाइनल भई सम्पन्न हुन लागेको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।