• १३ असोज २०८१, आइतबार

संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’

blog

भैरहवा (रुपन्देही), वैशाख १ गते । रुपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ । भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ । हिन्दु स्वयम सङ्घ नेपालले सो दौडमा दौडमा गैडहवा गाउँपालिका-८ का उमेश बरई प्रथम भई १५ हजार एक सय पुरस्कार प्राप्त गर्नुभयो । 

यस्तै सियारी गाउँपालिका-३ का सन्दीप कुर्मी दोस्रो भई ११ हजार एक सय, सियारी-४ का मनोज केवट तेस्रो भई सात हजार एक सय तथा सियारी-१ का दीपक पासी, सोही ठाउँका अरुण चौधरी, रोहिणी-५ का सैफ अलि अन्सारी र शुद्धोदन-४ का ग्रिजेश यादवले एक हजार नगदसहित सान्त्वना पुरस्कार पाउनुभयो । उक्त दौडमा पाँच सयभन्दा बढी व्यक्ति सहभागी भएका सङ्घका राष्ट्रिय सङ्घचालक भीम शर्मा आचार्यले जानकारी दिनुभयो ।

“नेपालको संस्कृति संसारकै लागि अनुकरणीय रहेको छ, यसलाई अनुसरण गर्न विदेशी नागरिक पनि यहाँ आउने गरेका छन्,” उहाँले भन्नुभयो-“हाम्रो संस्कृतिमा पारिवारिक पद्धति छ, सँगै मिलेर बस्ने संस्कृतिलाई जोगाएर राख्नु हाम्रो दायित्व हो ।” यसकै लागि भैरहवामा संस्कृति रक्षा दौड आयोजना गरिँदै आएको उहाँको भनाइ छ । नेपालमा पश्चिमी संस्कृति हाबी हुँदै गएकामा सङ्घ चिन्तित बनेको  छ । “हाम्रो संस्कृति, संस्कार र पहिचान मध्येको एउटा विक्रम संवत् पनि हो, यसको रक्षाका लागि प्रत्येक वर्ष संस्कृति रक्षा दौड आयोजना गर्दैआएका छौँ”, सङ्घचालक आचार्यले भन्नुभयो । 

दौडमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी थिए । विद्रोही चोकबाट सुरु भएको दौड बुद्धचोक, कान्छीबजार, पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक हुँदै पुनः विद्रोही चोकमा समापन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) रहनुभएको थियो । रचनाकार माइलाले राष्ट्रप्रेम महत्त्वपूर्ण कुरा भएको उल्लेख गर्दै अरूको संस्कार संस्कृतिको देखासिकी गर्ने परम्परा तोडिनुपर्ने बताउनुभयो । रासस