• १२ साउन २०८१, शनिबार

गोरखापत्रमा अब ४३ मातृभाषा प्रकाशन हुने

blog

काठमाडौँ, वैशाख १ गते । गोरखापत्र दैनिकमा प्रकाशन हुँदै आइरहेको नयाँ नेपाल बहुभाषा पृष्ठमा थप दुई मातृभाषा समावेश भएको छ । योसँगै गोरखापत्र दैनिकमा प्रकाशन हुने मातृभाषाको सङ्ख्या ४३ पुगेको छ । 

गोरखापत्र संस्थान व्यवस्थापनले याक्खा र डडेलधुरेली मातृभाषालाई गोरखापत्र दैनिकमा समावेश गरी प्रकाशन गर्ने निर्णय गरेको हो । यसअघि गोरखापत्र दैनिकमा नेपालीबाहेक विभिन्न ४१ मातृभाषामा समाचारमूलक सामग्री प्रकाशन हुँदै आएको थियो । २०६४ असोज १ गतेदेखि गोरखापत्र दैनिकमा नयाँ नेपाल शीर्षक अन्तर्गत विभिन्न मातृभाषामा बहुभाषा (समावेशी) पृष्ठ प्रकाशन प्रारम्भ भएको हो । 

ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापछि बनेको नेपालको अन्तरिम संविधानले देशका सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको थियो । मातृभाषाले राष्ट्रभाषाका रूपमा संवैधानिक मान्यता पाएपछि सञ्चार माध्यमलाई पनि समावेशी बनाउने नीति अनुरूप गोरखापत्र दैनिकमा विभिन्न राष्ट्रभाषा समावेश गरी समाचार एवं रचना प्रकाशन गर्ने निर्णय गरिएको थियो । २०६४ साउन ४ गते सम्पन्न संस्थान सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुरूप गठित कार्यदलले दिएको सुझाव अनुसार नयाँ नेपाल शीर्षक अन्तर्गत समावेशी पृष्ठ प्रकाशन प्रारम्भ भएको थियो । 

प्रारम्भिककालमा विभिन्न छ वटा मातृभाषा मैथिली, मगर, तामाङ, राई, नेपाल, लिम्बू, गुरुङ र थारू भाषापृष्ठ प्रारम्भ भएको थियो । गत वर्ष बाहिङ, बझाङी र ह्याल्मो भाषा समावेश भएको थियो । समावेशी पृष्ठ प्रकाशनबाट गोरखापत्र दैनिक समावेशी चरित्रको हुनुका साथै मुलुकको विभिन्न भाषिक विविधतालाई गोरखापत्रलाई अङ्गीकार गरेको छ ।

मुलुकको भाषिक विविधतालाई गोरखापत्रले स्वीकार गरी समावेशी पृष्ठ प्रकाशन गर्दै आएको संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले बताउनुभयो । विभिन्न ४३ भाषामा सामग्री प्रकाशन गरी समावेशितालाई कार्यान्वयन गर्ने गौरवपूर्ण इतिहास गोरखापत्रले बोकेको धारणा व्यक्त गर्दै उहाँले यसलाई आगामी दिनमा थप समावेशी बनाउने बताउनुभयो । राष्ट्रिय एकताको अनुपम उदाहरणका रूपमा रहेको यो अभ्यासले सामाजिक सद्भाव अभिवृद्धिमा समेत बल पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।