• १३ मंसिर २०८१, बिहिबार

नियम विपरीतका हतियार जफत हुने

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत ३० गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले नियम विपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ। 

पाँच वर्षभन्दा बढी अवधिसम्म नवीकरण नभएका हातहतियार प्रशासन कार्यालयले जफत गर्ने भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो।

गृह मन्त्रालयको निर्देशन बमोजिम जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा दर्ता भएका हातहतियार नियमानुसार म्यादभित्र नवीकरण नभएको भए तत्काल नियमानुसार नवीकरण गर्नुपर्ने उहाँले बताउनुभयो।

इजाजत पत्र नलिएका तथा इजाजत पत्र नभएका हातहतियार र पाँच वर्षभन्दा बढी अवधिसम्म नवीकरण नभएका हातहतियार २०८१ वैशाख मसान्तभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा यथाशीघ्र बुझाउनका लागि सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो।

जिल्लामा २८१ हातहतियार दर्ता रहेको उहाँले जानकारी दिनुभयो।