• ५ जेठ २०८१, शनिबार

२०८० मा आठ पूर्वाधार : कुनमा कति प्रगति ?

blog

काठमाडौं,  चैत ३० गते। वि.सं. २०८० साल शुक्रबार सकिएको छ । देशको राजनीतिक, आर्थिक तथा विकास पूर्वाधारको क्षेत्रमा विभिन्न  उतारचढाव हुँदै यो वर्ष आजबाट बिदा हुँदैछ। यो वर्ष सकिँदै गर्दा केही विकास पूर्वाधारमा प्रगति भएको छ भने केही पूर्वाधारले अपेक्षा गरेअनुसार प्रगति हासिल गर्न सकेका छैनन् । 

निर्माण व्यवसायीले सरकारले भुक्तानी गर्न बाँकी रहेको बक्यौताबापतको रकम समयमा भुक्तानी नगरेको भन्दै  रोक्दा केही आयोजना प्रभावित भए । तर, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन भएका कारण पाँच खर्ब बढी बजेटका दुई हजार आयोजना म्याद थपको प्रक्रियामा  रहेका छन्।

सकिएन ग्वार्को फ्लाइओभर 

ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको ग्वार्को  फ्लाइओभरको काम यो वर्षको फागुन महिनामा सक्ने लक्ष्य रहे पनि तोकिएको समयमा काम सम्पन्न हुन सकेको छैन। निर्माण आयोजनाका अनुसार यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत भएको छ।


निर्माण कम्पनीले छ महिनाको म्याद थप गर्नकf लागि प्रस्ताव पठाएको  छ । सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनका अनुसार असारसम्ममा गाडी गुडाउने योजना रहेको छ । गत वर्षको माघ महिनाबाट सुरु भएको आयोजनाको डिजाइन गलत भएको भन्दै केही समय रोकिएको थियो । 

नयाँ डिजाइन बनेपछि मङ्सिरबाट निर्माण कार्य पुनः सुरु भएको हो। फागुनमा सक्ने लक्ष्य रहेको योजनाको काम चैत अन्तिमसम्ममा ६० प्रतिशत मात्र भएको छ। 

अन्तिम चरणमा नागढुङ्गा सुरुङ्मार्ग 

काठमाडौँको दहचोकदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको छ। थानकोट–नागढुङ्गा क्षेत्रमा हुने अत्यधिक जाम कम गरेर यात्रा सहज बनाउन बनेको सुरुङ मार्गको भौतिक प्रगति ९९ प्रतिशत रहेको छ । स्थानीयको अवरोधले यसको ब्रेक थ्रु रोकिएको थियो । आगामी वैशाखको पहिलो साता टनेल छिचोलिने आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताउनुभयो। 

अल्झनमा मेलम्ची

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य सकिए पनि हरेक वर्ष यसको एउटै कहानी सुन्नु परेको छ। २०७८ सालमा आएको ठूलो बाढीसहितको पहिरोले क्षति गरेको आयोजना अहिलेसम्म वर्षायाममा पहिरोले क्षति गर्ने गरेको छ। 

यो वर्ष जेठमा बन्द भएको खानेपानी पठाउने काम  पुसमा मात्र सञ्चालमा ल्याइएको थियो। उपत्यकाबासीलाई बाह्रै महिना पानी खुवाउन सकिएको छैन। बढीले क्षति गर्दा यस आयोजनामा लागत भने बढेको बढ्यै छ। 

छिचोलीयो तनहुँको जलविद्युत

तनहुँ ऋषिङ् गाउँपालिका १ र व्यास गाउँपालिका ५ सीमा भएर बग्ने सेती नदीको पानी प्रगोग गरी निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ् छिचोलिएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले चैत १८ गते स्वीच थिचेर मुख्य सुरुङ छिचोल्नुभएको थियो । 

आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशय मुहान (इनटेक) बाट सुरु भएर पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४ सय ९३ मिटर लामो सुरुङ छोलिएको हो। मुख्य सुरुङको ब्यास ७.४ मिटर रहने छ।

द्रुतमार्गको प्रगति ३१.९० प्रतिशत 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं तराई जोड्ने सबैभन्दा छाटो दुरीको सडकको रुपमा रहेको द्रुतमार्गको  भौतिक प्रगति ३१.९० छ।  वित्तीय प्रगति भने ३२.३३ प्रतिशत रहेको छ। 

चालु आर्थिक वर्षमा सक्ने योजना रहेको यस आयोजना नसकिने निश्चित छ। बकैया र मकवानपुरको जितपुर खोलामा धरहराभन्दा ठूला पुल निर्माण हुँदैछन्। 


नेपाली सेनाले आयोजनाको निर्माण गरिरहेको छ। यो वर्षको सुरुमा भारतले विष्फोटक पदार्थ समयमा उपलब्ध नगराउँदा काममा कठिनाई भएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो। सेनाले काठमाडौं–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ। 

द्रुतमार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणको लागि ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको छ। ठेक्का लागेका आयोजनाको काम तीव्र गतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगामी २ वर्ष भित्रै निर्माण कार्य सकिने सेनाको भनाइ छ। 

काठमाडौंबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमि ठेक्का लाग्न बाँकी रहेको छ।

सिद्धबाबा सुरुङ्मार्गको काम सन्तोषजनक 

सिद्धबाबा सुरुङ्मार्गको काम उत्साहजनक रुपमा भएको छ। अहिलेसम्म १०० मिटर सुरुङ् खन्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

सिद्धबाबा मन्दिर नजिकैबाट छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत छेउनजिकै निस्कने सुरुङ्मार्गको कुल लम्बाई एक हजार १२६ मिटर हुनेछ। आगामी ६ महिनामा यो सुरुङ्मार्ग छिचोल्ने तयारी रहेको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताउनुभयो। गत माघ महिनाबाट निर्माण सुरु भएको यस आयोजनाको निर्माण कार्य थालिएको हो। मेसिनले मात्र सुरुङ् खन्ने काम भएकाले  अपेक्षा गरेअनुसार काम गर्न भने नसकिएको उहाँको भनाइ छ।  

सुनकोशी डाइभर्सनको सुरुङ निर्माणमा उल्लेख्य प्रगति

तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुगाउने लक्ष्यसाथ सुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ।

कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्बद्ध आयोजनाले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमितरुपमा चासो दिएपछि  आयोजनामा उल्लेख्य प्रगति देखिएको छ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२ किलोमिटर ७९ मिटर सुरुङ निर्माण भइसकेको छ। 

आयोजना प्रमुख बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ। नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको छ।

भएन सम्पन्न धरहरा 

काठमाडौंको सुन्धारामा निर्माणाधीन धरहराको काम यस वर्ष पनि सकिएको छैन। २०७५ असोज १ गते दुई वर्षमा सक्ने गरी निर्माण सुरु गरिएको धरहरा पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन। 

पाँचौँ पटक म्याद थप गरेर काम सक्ने भने पनि निर्माण जिम्मा पाएको जिआइटिसी रकम कन्स्ट्रक्सन जेभीले हाल ९३ प्रतिशत मात्र काम सम्पन्न गरेको शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन तथा आवास) आयोजना निर्देशक कोषनाथ अधिकारीले बताउनुभयो ।


पाँचौ पटक थपिएको म्याद फागुन मसान्तमा सकिएको छ। अहिले निर्माण कम्पनीले म्याद थपको लागि प्रस्ताव पठाएको अधिकारीले बताउनुभयो। धरहराको फिनिसिङ् सकिएको छ। इलेक्ट्रिक सामानको जडानपछि काममा पाँच प्रतिशत वृद्धि हुने उहाँको भनाइ छ। आगामी असारसम्म म्याद थपको तयारी रहेको उहाँले बताउनुभयो। 

पूर्वाधार  विकासमा उत्साह छैन

नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवी सिंहले यो वर्ष पूर्वाधार विकासमा उत्साह मान्नुपर्ने अवस्था नभएको बताउनुभयो। यो वर्ष पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र सरकाले गरेको पूँजीगत खर्चको प्रतिशत हेर्दा सन्तोष मान्नुपर्ने अवस्था नरहेको उहाँको तर्क छ। 

उहाँले भन्नुभयो, “यस वर्ष पूर्वाधार विकासमा सोचेजस्तो उत्साह हुन सकेन, पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, अन्य निर्माण सामग्रीमा धेरै मूल्य वृद्धि भयो। जसका कारण व्यवसायी मारमा परे, सरकारले पुँजीगत खर्च धेरै गर्न सकेन।” 

अध्यक्ष सिंहका अनुसार यो वर्ष कोरोना संक्रमणको समयमाभन्दा कम काम भएको छ। सरकारले निर्माण व्यावसायीको बक्यौता रकम समयमा भुक्तानी नगरेका कारण  आयोजना निर्माणमा बाधा परेको उहाँको भनाइ छ।

पूर्वाधारको क्षेत्रमा सरकारको साढे तीन खर्ब र निजी क्षेत्रको साढे चार खर्ब गरेर आठ अर्बको योगदान हुने भए पनि यो वर्ष कुल रकमको ३० प्रतिशत मात्र उपयोग भएको उहाँको भनाइ छ।

यो वर्ष सार्वजनिक खरिद नियमावली, २०६४ को १३ औँ संशोधन भएकाले पाँच खर्ब हाराहारीका दुई हजार आयोजनाको म्याद थप हुने प्रक्रियामा रहनु सुखद भएको उहाँ बताउनुहुन्छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।