• ७ वैशाख २०८२, आइतबार

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

blog

काठमाडौं, चैत ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला चित्त नबुझी सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गोपाल राय यादवविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी र राजस्व चुहावट गरी भ्रष्टाचार भएको मुद्दा सर्वोच्चमा पुनरावेदन भएको छ ।

आयोगका अनुसार सो कसुरमा प्रतिवादीहरू यादवसहित कान्ति देवी, सञ्जय प्रसाद, भविछन राय यादव, दीपनारायण साह, शेख एजाज अहमद, हिरा राय यादव, उमाशंकर साह कलवार, दीपनारायण चौधरी, ज्ञानेन्द्र चौधरी, योगेन्द्र चौधरी, लमण साह कानु, सुन्दरी माझाी, जिरनी देवी, फुल कुमारी देवी, सजु देवी जयसवाल, शशिकुमार साह र रवीन्द्र कुमार निधिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम बिगो एक करोड ५३ लाख ५० हजार १९९ रुपियाँ कायम गरी सजायको मागदाबी लिइएको थियो ।

यस्तै, रिट्ठे दर्जीविरुद्ध राजश्व हिनामिना भएको मुद्दामा नायब सुब्बा मनोज कुमार निरौलाले आर्थिक वर्ष २०७३/७४  र आर्थिक वर्ष २०७४/७५ को अवधिमा मुद्दा फाँटमा सङ्कलित राजस्व रकममध्ये चार लाख ७१ हजार ६१८ रुपियाँ लेखा शाखामा नबुझाई खाइ मासी हिनामिना गरेको आरोप लागेको मुद्दा सर्वोच्चमा पुनरावेदन भएको आयोगले जनाएको छ ।