दिवाकर पोख्रेल
देउखुरी, चैत ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाउनुभएको छ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत पाउनु भएको हो ।
प्रदेशसभामा उपस्थित ८६ प्रदेशसभा सदस्यमध्ये उहाँको पक्षमा ४८ मत परेको छ । मुख्यमन्त्री महरालाई नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र)का १०, जनता समाजवादी पार्टीका ३, नागरिक उनमुक्ति पार्टीका ४ र एकीकृत समाजवादीका १ र स्वतन्त्र प्रदेशसभा सदस्य १ गरी जम्मा ४८ प्रदेशसभा सदस्यले मत दिनुभएको हो । जुन प्रदेशसभा सदस्यको बहुमत रहेकाले मुख्यमन्त्री महराले विश्वासको मत पाउनुभएको हो ।
प्रदेशसभामा सभामुख तुलाराम घर्ती मगरले ८६ प्रदेशसभा मध्ये मुख्यमन्त्रीको पक्षमा ४८ मत परेकाले उहाँले विश्वासको मत पाउनुभएको घोषणा गर्नुभयो ।
मुख्यमन्त्री महराको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीसहित २८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । प्रदेशसभामा धारणा राख्दै निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो पार्टीले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने भएकाले सरकारको विपक्षमा बलियो शक्ति आवश्यक पर्ने भएकाले नेपाली कांग्रेसले विश्वासको मत दिन नसक्ने जानकारी गराउनुभयो ।