• १२ साउन २०८१, शनिबार

सकेट बम राखेर करोडको बोधिचित्तको बोट कटान

blog

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–५ नागबेलीमा अज्ञात समूहले काटेको बोधिचित्त मालाको रुख । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना
बनेपा, चैत ३० गते ।
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–५ नागबेलीमा अज्ञात समूहले बोधिचित्त मालाको रुख काटिदिएका छन् । बिहीबार राति १५/२० जनाको समूहमा आएको अज्ञात समूहले स्थानीय ठकुरानी तामाङको बारीमा रहेको करिब एक करोड रुपियाँको बोधिचित्त मालाको बोट काटेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले अज्ञात समूहले बोधिचित्त मालाको रुख काट्नुको साथै तामाङको घरको ढोका र आँगनमा चार थान घरेलु सकेट बम राखेको बताउनुभयो । उहाँले अज्ञात समूहले बोधिचित्तको बोट काटेको थाहा पाएपछि स्थानीयवासीले शुक्रबार बिहान २ः३० बजे  इलाका प्रहरी कार्यालय मङ्गलटारमा खबर गरेको बताउनुभयो ।


प्रहरी नायब उपरीक्षक श्रेष्ठले बोधिचित्त बोट काटेका अज्ञात समूहले राखेको सकेट बम नजिकै जनमुक्ति सेना नेपाल लेखेको एउटा ज्याकेट फेला परेको जानकारी दिनुभयो । अज्ञात समूहले सकेट बम राखेसँगै घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काको नेतृत्वमा प्रहरी, नेपाली, सेना र शसस्त्र प्रहरी बल गण १५ नम्बर हेडक्वार्टरको प्रहरी टोली घटनास्थल पुगेको छ ।

कुन समूहले बोधिचित्तको रुख कटान गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको र धुलिखेलस्थित कालिजङ्ग गणको नेपाली सेनाको टोलीले सकेट बम डिस्पोज गर्ने काम गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । तामाङले उक्त बोटको बोधिचित्तको दाना गत वर्ष ९० लाख रुपियाँमा बिक्री गर्नुभएको थियो ।