• १० असार २०८२, मङ्गलबार

ताराखोलाको नीति : उत्पादनमा आधारित अनुदान

blog

ताराखोला गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष धनबहादुर विक ‘हिमाल’ । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, असार १० गते
। जैविक गाउँपालिकाको रूपमा परिचित पश्चिम बागलुङको ताराखोलाले उत्पादन बढाउन वितरणमुखी नीतिलाई निरुत्साहित गर्दै उत्पादनमा आधारित अनुदान नीति तथा कार्यक्रम ल्याएको छ । 

गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले २०८२/०८३ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक उत्पादन बढाई निर्यात वृद्धि गर्न तथा पर्याप्त मात्रामा स्थानीय तहमा रोजगारी सिर्जना गर्न कृषक, कृषि समूह, निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरी एकीकृत उत्पादन र बजारीकरणलाई जोड दिइने बताउनुभयो ।

उत्पादन हुने हरेक वस्तुलाई बजारीकरण गरेर आयआर्जनमा जोड्ने, किसानलाई व्यवसायिक बनाउने तथा श्रमिकलाई गाउँपालिकाभित्रै अधिकतम रोजगारी दिने ताराखोलाले नीति लिएको छ । ताराखोलामा बजारीकरण गर्न सकिने धेरै उद्योगहरू छन् । ती साना तथा मझौला उद्योगलाई बजारमा जोड्दा स्थानीयवासीले रोजगारी पाउने, आयआर्जन बढ्ने र पालिकाको राजश्व समेत बढाउने पालिकाको लक्ष्य छ ।

अल्लो कपडा र हातेकागज उद्याेग, अन्य कृषिजन्य उत्पादनहरूलाई बजारमा पठाउन पालिकाले अगुवाई गर्ने अध्यक्ष विकले बताउनुभयो । आफ्नै खरबारी र खेतमा स्लेट ढुङ्गा उत्पादन गर्दै आएका उद्यमीका उत्पादनलाई बजारमा जोड्ने काम चुनौतीपूर्ण भए पनि ती उद्योगहरूलाई सूचीकरण गरेर अन्य पालिका र सङ्घ तथा प्रदेशमा पनि समन्वय गर्ने ताराखोला गाउँपालिकाको नीति छ ।

ताराखोलामा रोजगारीका लागि विश्व श्रम रोजगार बैँक स्थापना भइसकेको छ । उक्त बैँकमा अधिकतम श्रमिकलाई जोडेर गाउँपालिकाभित्रै रोजगार दिइने छ । सडक, भवन र स्थानीय उद्योगमा पुर्वाधारको काममा स्थानीय श्रमिकहरू जोडिएका छन् । उत्पादन र रोजगारीमा भने नीजि क्षेत्रको पनि साझेदारी भित्र्याउने नीति ताराखोलाले बनाएको छ । आन्तरिक उत्पादन बढाई निर्यात वृद्धि गर्न तथा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न खोजिएको अध्यक्ष विकको भनाइ छ ।

वितरणमुखी अनुदानलाई निरुत्साहीत गर्दै उत्पादनमा आधारित अनुदान प्रणाली विस्तार गर्ने, पशुपक्षी उपचारमा जोड दिँदै पालिकास्तरीय आधारभुत प्रयोगशाला स्थापना गर्ने, सामुदायिक वनमा पर्यापर्यटन क्रियाकलाप सञ्चालन गर्ने, गुरिल्ला ट्रकिङ पदमार्ग निर्माण गरी पर्यटक भित्राउने समेत ताराखोलाले नीति बनाएको छ ।