गोरखापत्र अनलाइन
काठमाडौं, चैत २९ गते । अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षा भएको छ ।
बाँकी प्रदेशको मौसम भने आंशिक बदली भएको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार प्रि–मनसुन समय भएकाले बेलुकापख मेघगर्जन चट्याङ्सहित हल्का बर्षा भएको हो । अधिकांश स्थानमा बेलुकापख मेघगर्जनसहित वर्षाको सम्भावना हुने उहाँको भनाइ छ ।
अब यो प्रणाली विस्तारै कमजोर हुँदै जाने भएका कारण राति वर्षाको सम्भावना नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रिमनसुनको समय भएका कारण तीन प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भएको छ ।”
शुक्रबार बेलुकापख पनि यी प्रदेशका पहाडी भूभागमा हल्का बर्षाको सम्भावना रहेको उहाँको भनाइ छ । बिहानपख मौसम सफा रहे पनि बेलुकापख भने मौसममा आंशिक परिवर्तन हुनसक्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।