• १३ असोज २०८१, आइतबार

स्रोत साधनको सही सदुपयोग गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

blog

कर्णाली प्रदेश सभा बैठकमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कँडेल । तस्बिरः मुना हमाल

मुना हमाल

सुर्खेत, चैत २९ गते । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले स्रोत र साधनको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । 

मुख्यमन्त्री भएपछि पहिलो पटक बिहीबार प्रदेश सभाको बैठकमा धारणा राख्नुहुँदै मुख्यमन्त्री कँडेलले प्राप्त स्रोत साधनको  समयमै सही सदुपयोग नहुँदा समस्या आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कर्णालीमा जति स्रोत साधन हुनुपर्ने हो, त्यो नभए पनि जति हामीले प्राप्त गरेका छौँ, त्यसलाई समयमै प्रयोग नगर्दा समस्या आएको छ । यसलाई बदल्ने र सच्चाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’ 

सबै प्रदेश सभा सदस्यहरू सहमत भए कतिपय नीतिहरू पनि पुनर्विचार गर्नुपर्ने आवश्यक रहेको भन्दै विकासको गति निर्माण गर्न सकिने उहाँले चर्चा गर्नुभयो । जनताको अपेक्षा भरोसा र विश्वासलाई स्थापित गर्न सन्तुलित विकासको अवधारणा, योजना र बजेट छान्न आवश्यक रहेको उहाँको भनाइ छ । 

मुख्यमन्त्री कँडेलले अहिले अवस्थाबारेमा आफू बुझ्ने प्रक्रियामा रहेको त्यसपछि आफ्ना योजना सार्वजनिक गर्ने बताउनुभयो । उहाँले परिणाम नल्याउँदा जनतामा निराश छाएको उल्लेख गर्दे थोरै भए पनि यसलाई सुधार गर्ने कुरामा प्राथमिकता  दिने प्रतिबद्धता जनाउनुभयो ।