• ५ माघ २०८१, शनिबार

जनकपुरधाममा सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगिता हुने

blog

पत्रकार सम्मेलनमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह सहितका व्यक्तिहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा
धनुषा, चैत २९ गते । 
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आगामी वैशाख २० देखि २९ गतेसम्म सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना, सहिद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट सङ्घ (क्यान)को सहकार्यमा हुन लागेको उक्त प्रतियोगितामा सात वटा प्रदेशको क्रिकेट टिम र एउटा आयोजक टिम गरी आठवटा टिमको सहभागिता रहने बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहिद कप क्रिकेट कमिटीका संयोजक रोशन सिंहले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमलाई दुई लाख एघार हजार नगद र ट्रफि र उपविजेता टिमलाई एक लाख एक हजार नगद र ट्रफि प्रदान गरिने आयोजक मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलले जानकारी गराउनुभयो ।

निजी स्तरबाट २०७५ सालदेखि सुरु भएको उक्त प्रतियोगिता कोरोना कालमा हुन सकेको थिएन । मधेश प्रदेश सरकारले यसको अपनत्व लिएपछि तेस्रो पटक उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ३७ लाख रुपियाँ जति खर्च हुने जसमध्ये ३० लाख रुपियाँ प्रदेश सरकारले दिने र बाँकी रुपियाँ निजी स्तरबाट सहयोग उठाइने संयोजक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साहले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले आगामी दिनमा खेलकुदको विकासका लागि थप बजेट विनियोजन गर्न लगाइने जानकारी दिनुभयो ।