• १९ वैशाख २०८१, बुधबार

‘इद पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति जगेर्ना गरेको छ’

blog

सन्तोष सुवेदी
कास्की, चैत २९ गते । 
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

भट्टले जारी गर्नुभएको शुभकामना सन्देशमा, ‘‘मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठुलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ । यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ । यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ ।’’ उल्लेख छ  ।

यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकास गर्न टेवा पुग्नुका साथै धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवम् पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउने भट्टको विश्वास छ ।

आपसी सद्भावको चाडको रूपमा मनाइने इदले सबै नेपालीबिच बन्धुत्वको भावना बढाउने, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने, राष्ट्रिय एकता, समुन्नत एवम् समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास लिँदै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।