• १३ मंसिर २०८१, बिहिबार

सैनामैनामा पुनर्भरण पोखरी बनाइने

blog

पुनर्भरण पोखरी निर्माणका लागि जग्गा निरीक्षण गर्दै सैनामैनाको टोली ।

बुटवल समाचारदाता

बुटवल, चैत २९ गते । वनजङ्गलको विनाशले जमिनमुनिको पानीको स्रोत सुक्दै गएपछि पानी पुनर्भरणका लागि पोखरी निर्माण गर्ने योजना अघि बढाइएको छ । 

रुपन्देहीको सैनामैना नगरपालिका–१ को सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले स्थानीय बौराहा खोला किनारको सैनामैना सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वनको जग्गामा पुनर्भरण पोखरी निर्माणका लागि पहिलो चरणको छलफल गरिएको छ । 

संस्थाका अध्यक्ष एकबहादुर क्षेत्रीले जमिनमुनिको पानीको स्रोत सुक्न नदिन यस्ता पोखरी निर्माण गर्ने योजना बनाइएको जानकारी दिनुभयो । उहाँले पानीको अभावले दैनिक जीवन प्रभावित हुन गई आगामी दिनमा सामाजिक र आर्थिक अवस्थामा विचलन आउने निश्चित देखिएकाले समयमै सचेत हुनुपर्ने बताउनुभयो । अध्यक्ष क्षेत्रीले पछिल्लो समय वन डढेलो प्रमुख चुनौतीका रूपमा रहेकाले डढेलोका कारण वनजङ्गल विनाश भइरहेको र त्यसले गर्दा जमिनमुनिको पानीसमेत सुक्दै गएको बताउनुभयो । 

खानेपानी डिभिजन कार्यालय रुपन्देहीका इन्जिनियर आदित्य धितालले जमिनमुनि रहेको पानीको स्रोत पुनर्भरण गर्न तथा सुन्दर र हरियाली वातावरण निर्माणमा अबका दिनमा सबै सरोकारवालाको ध्यान पुग्नुपर्ने बताउनुभयो । उहाँले पानीको मुहान सुक्न नदिन बहुउद्देश्यीय पुनर्भरण पोखरी निर्माण गर्न सम्भाव्य स्थान खोजी गर्ने क्रममा सैनामैना उपयुक्त ठहरिएकाले पार्क निर्माणसहितको योजना अघि बढाउने, गुरुयोजना तर्जुमा गर्ने तथा योजनाको लागत खर्चका लागि बजेट व्यवस्थापन गर्न छलफल सकारात्मक रूपमा अघि बढेको बताउनुभयो । 

बहुआयामिक रिचार्ज पोखरी निर्माण सम्भाव्यता अध्ययन समितिकी संयोजक कमला विश्वकर्माले दीर्घकालीन रूपमा बहुआयामिक योजना अन्तर्गत पुनर्भरण पोखरी, पार्क र फूलबारी निर्माणको योजना अघि बढाइएको बताउनुभयो । 

बौराहा खोलाको किनारमा रहेको करिब १२ बिघा खाली जग्गामा रिचार्ज पोखरी निर्माण गर्नुका साथै बहुउद्देश्यीय पार्कका लागि उपयुक्त हुने भएकाले सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले दातासँग सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।