काठमाडौँ, चैत २८ गते। गायक विजय लामाले याङ्गजीन साङ्गगे फाउण्डेसन खोल्नुभएको छ। नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी मेरो मामा, माया है बस्ला रसैले लगायतका कैयौँ हिट गीतका गायक लामाले दिदी र भान्जाको शोकमा फाउण्डेसन सञ्चालनमा ल्याउनुभएको हो।
गायक लामाकी दिदी याङ्गजीन लामाको क्यान्सरले निधन भएको केही समयमा भान्जा साङ्गगे रिन्जिन लामाको हृदयाघातका कारण निधन भएको थियो। त्यही शोकमा उहाँले दिदी र भान्जाको नाममा फाउण्डेसन स्थापना गर्नुभएको हो।
‘भान्जा र दिदीको नाममा याङ्गजीन साङ्गगे फाउण्डेशन खोलेर म सामाजिक काममा जोडिएको हुँ’, उहाँले भन्नुभयो, ‘उनीहरूको आत्माको शान्तिको कामनाका लागि म समाजसेवामा धेरै काम गर्नेछु।’
फाउण्डेसनले दुर्गम क्षेत्रमा पाठेघरको क्यान्सर भएका दिदीबहिनीलाई उपचारमा सहयोग गर्नेछ। असहायलाई सहयोग गर्ने लक्ष्य लिएको फाउण्डेसनले लागूऔषध तथा दुर्व्यसनीमा फसेका युवायुवतीको क्षेत्रमा काम गर्ने योजना बनाएको उहाँको भनाइ छ।
सामाजिक सेवामा लग्न फाउण्डेसन बनाउनुभएका गायक लामाले चार सय बढी गीतमा स्वर दिनुभएको छ। पछिल्लो समय एल्बमको तयारीमासमेत सक्रिय भएको उहाँको भनाइ छ।