• १३ मंसिर २०८१, बिहिबार

सत्यवतीमा भेटियो दुर्लभ'किङ कोब्रा'

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत २८ गते । गुल्मीमा दुर्लभ मानिने ‘किङ कोब्रा’ प्रजातिको सर्प फेला परेको छ । यस जिल्लाको सत्यवती गाउँपालिका-६ जोहाङको एक किराना पसलमा उक्त प्रजातिको सर्प भेटिएको कालीगण्डकी चन्द्रकोट सबडिभिजन वन कार्यालय सोताका वन रक्षक नारायण थारुले जानकारी दिनुभयो ।

वन रक्षक थारुका अनुसार स्थानीय पुष्पा श्रेष्ठको घरमा रहेको सानो किराना पसलभित्र ‘किङ कोब्रा’ प्रजातिको सर्प फेला परेको हो । मङ्गलबार दिउँसो किराना पसलमा सर्प देखिएको जानकारी पाउनासाथ प्रहरी र वन कार्यालयका कर्मचारी सो स्थानमा पुगेका थिए ।

करिब तीन मिटर लम्बाई रहेको ‘किङ कोब्रा’ प्रजातिको सर्पको तौल छ किलो ७१५ ग्राम छ । यसको उद्धार गर्नको लागि पाल्पाको तानसेन नगरपालिका– १४ मा रहनुभएका सर्प समात्न अनुमति प्राप्त प्राविधिक सागर पाण्डेलाई बोलाइएको उहाँले बताउनुभयो ।

पसलभित्र रहेको सो सर्पलाई स्थानीय जनप्रतिनिधि, डिभिजन वन कार्यालय गुल्मीका कर्मचारी, प्रहरी तथा स्थानीय जनताको उपस्थितिमा उद्धार गरिएको हो । सर्पलाई सुरक्षित ढंगले जङ्गलमा लगेर छोडिने बताइएको छ ।