गजेन्द्र गुरुङ
खजुरा, चैत २८ गते। बाँकेको हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडक खण्डमा पर्ने डाइभर्सन गरिएको सडकको स्तरोन्नति गर्ने कार्य सुरु गरिएको छ। चैत २६ गते गोरखापत्र अनलाइन र २७ गतेको गोरखापत्र दैनिकमा ‘धुलाम्य सडक तत्काल व्यवस्थित गर्न आग्रह’ र ‘धुलाम्य सडकले सास्ती’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि उक्त सडकको स्तरोन्नति सुरु भएको हो।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष लवराज खरेलले राप्ती नदीको पूर्वी भागमा निर्माणाधीन अवस्थामा रहेको राप्ती नदी पुल निर्माण कम्पनीले चलन चल्तीमा रहेको बाटो पुल निर्माण सहजताका लागि बन्द गर्दै वैकल्पिक सडकमार्फत डाइभर्सन गरेर सञ्चालनमा ल्याएको तर डाइभर्सन गरिएको सडकमा यातायात सञ्चालन गर्दा धुलाम्य हुने गरेको, वातावरणसमेत प्रदूषण भइरहेको तथा मानव स्वास्थ्यमा गम्भीर असर पुगिरहेको जानकारी गराउनुभएको थियो। उहाँले निर्माण कम्पनीसँग बारम्बार सो सडक क्षेत्रमा ग्राबेल गर्न र समय समयमा पानी छर्केर धुलाम्य हुन र कष्टदायी यात्रा हुनबाट जोगाउनका लागि आग्रह गरेपनि सुनुवाइ नभएको बताउनुभएको थियो।
पुल निर्माण कम्पनी लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्स्ट्रक्सन प्रालिका इन्जिनियर राजेश पटेलले धुलाम्य र कष्टकर बनेको उक्त डाइभर्सन गरिएको सडक खण्डलाई स्तरोन्नति गर्न सुरु गरिएको जानकारी दिनुभयो। पटेलले २७ गते बेलुकादेखि नै सो सडकमा ग्राबेल हाल्ने र पानी हाल्ने काम सुरु गरिएको बताउनुभयो।
सो सडक प्रयोग गर्ने सबैले चासो दिनुपर्ने र सडक प्रयोग गर्दा अनुशासित भएर प्रयोग गर्नुपर्ने भन्दै उहाँले डाइभर्सन गरिएको मुख्य सडकको मात्र प्रयोग गर्न सम्बन्धितलाई आग्रह गर्नुभयो।
राप्ती नदीको पूर्वी खण्डमा पर्ने सात सय मिटर लम्बाई रहेको उक्त पुल निर्माणका लागि लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्स्ट्रक्सन प्रालिले ५३ महिनामा पुल निर्माण गरिसक्ने गरी भ्याटसहित १ अर्ब १८ करोडमा गत माघ महिनामा ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको हो।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने राप्ती नदीस्थित सो सडक खण्डमार्फत् राप्तीसोनारीका केही वडा तथा नरैनापुर गाउँपालिकाका बासिन्दाले ओहोरदोहोर गर्ने गर्दछन्। सो सडकमा राप्ती नदीको पूर्वभागमा सञ्चालन गरिएका क्रसर उद्योगबाट बालुवा, गिट्टी बोक्ने टिप्पर दैनिक सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने गर्दछन्। साथै पछिल्लो समयमा नेपालगन्जबाट अगैया जाने सवारीसाधनले पनि सोही सडक रोज्ने गरेका छन्। सडकको उक्त खण्डमा ओहोरदोहोर गर्ने यात्रु तथा सवारी साधनले दैनिक सास्ती खेप्ने गरेका छन्।