• २९ वैशाख २०८२, सोमबार

देशलाई आधुनिक र औद्योगिक मुलुकमा रुपान्तरण गर्न आवश्यक

blog

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल

काठमाडौं, चैत २८ गते । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगीकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्योगिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै  उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश औद्योगिकरण हुन नसक्नुको आधारभूत कारण खोज्न जरुरी रहेको बताउनुभयो । उहाँले देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको बताउनुभयो । विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने बताउनुभयो ।

‘‘देश औद्योगिकरण हुन नसक्नुको कारण के हुन्, आधारभूत कारणहरु हामीले खोज्नुपर्छ । आधारभुत कारणलाई निवारण नगरेसम्म देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न सकिँदैन । देशलाई औद्योगिकीकरणतर्फ लैजानैपर्छ । हाम्रो देशका राष्ट्रिय उद्योगधन्दालाई विकास गर्न सक्नुपर्छ । राष्ट्रिय उद्योगधन्दाहरु भनेको के हो ? हामीसँग कृषि क्षेत्रसँग सम्बन्धित मात्रै पनि अनेकौँ उद्योगहरु बनाउन सकिन्छ ।,’’ नेकपा एसका सम्मानित नेता खनालले भन्नुभयो, ‘‘बन्न पनि खोज्दैछन्, बनाउने सम्भावना व्यापक छन् । हामीसँग वनजन्य उद्योगहरु व्यापक रुपले बनाउन सकिने सम्भावना छन् । तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौँ । हामी पानीजन्य उद्योगहरु पनि सञ्चालन गर्नसक्छौँ । पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन सकेका छैनौँ । हामी खालि विदेशीहरुको अपेक्षा गरेर हिँडिरहेका छौँ ।’’

पूर्वप्रधानमन्त्री खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल सङ्कटग्रस्त बनेको बताउनुभयो । निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने जानकारी दिनुभयो । उहाँले राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरु पनि बन्द हुने बताउनुभयो ।