• १४ जेठ २०८१, सोमबार

झलझली झिल्टुङ

blog

जेठ महिनाको अन्त्यतिर दुप्चेश्वर यात्राका व्रmममा नियात्राकार मित्र युवराज नयाँघरेले झिल्टुङको प्रस्ताव अघि सारे । 

उनको प्रस्तावले म हौसिएँ किनकि यो प्रस्ताव मेरो वर्षौंदेखि चाहनासँग ठोक्किन पुगेको थियो । तर प्राथमिकता फरक थियो  । उनका प्राथमिकतामा महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए, म भने नेपाल वंशको एक प्रमुख थलोका रूपमा त्यहाँको माटो कुल्चन र स्थानीय बन्धुहरूसँग भेटघाट गर्न चाहन्थेँ ।   

सोही प्रस्ताव अनि छोटो योजना अनुसार २०८० असार ९ गते शनिबारको बिहान झरीसँग जुध्दै पुग्यौँ कोल्पुटार । सारथि थिए मदन नेपाल अनि सहयात्री सुरेश वैद्य र बद्री उप्रेती । 

खाना खाइवरि ११ बजे कोल्पुटारबाट दुई वटा तीनपाङ्ग्रेमा बसेर उकालो लाग्छौँ हामी डाँडापाखा र गाउँ बस्ती हेर्दै । 

मस्त जवानीमा छ असार र हरियाली छ सबैतिर । रातो माटो भएको त्यस क्षेत्रका बारीका पाटाहरूमा मकैको साम्राज्य छ, कतै धानचमर निकालेका र कतै लहलह हुर्कंदै गरेका मकैका पात हल्लिएर स्वागत गरिरहेछन् हामीलाई । 

नपुगेको त्यो नौलो ठाउँ पुग्दा हर्षित छौँ हामी र फालिरहेछौँ जिज्ञासु दृष्टि परपरसम्म । हेरिरहेछौँ देखिएसम्म र राखिरहेछौँ एकपछि अर्को जिज्ञासा । सेरोफेरो चिनाउन हाम्रा साथमा पथप्रदर्शकका रूपमा छन् स्थानीय बन्धु केदार नेपाल ।  

०००

अन्यत्रका ग्रामीण सडकभन्दा भिन्न छैन यो पनि । रहरमा अवैज्ञानिक सडक बनाउने र हतारमा गाडी गुडाउने चलन देशैभरी छ र यो पनि त्यसभन्दा भिन्न लाग्दैन । सडक भनिए पनि खासमा यो “बाटो” हो र अप्ठ्यारो अनि जोखिमपूर्ण छ यो । र जानकारी गराइएको छ हामीले चाहेका स्थानसम्म पुग्न झन्डै १० किलोमिटर यात्रा गर्नु पर्छ यही बाटोमा । 

उकालोमा छौँ हामी र घेटेटेटे... गर्दैै पूरा शक्तिका साथ उक्लिरहेको तीनपाङ्ग्रेले उचाल्ने थचार्ने गरिरहेको छ हामीलाई । तर हामी कत्ति असहज महसुस गरिरहेका छैनौँ, आफ्नै शरीरले भोगिरहेको सास्तीसँग कुनै सरोकार छैन बरु रोमाञ्चित छौँ । जीवन भन्नु नै भोगाइ हो, अनुभव र अनुभूति हो, आत्तिनु र मात्तिनु हुँदैन भन्ने बुझेका हामी हतपती आत्तिने कुरै कहाँ र ? बरु एकपछि अर्को जिज्ञासा राख्दै अघि बढिरह्यौँ ।   

उकालो उक्लँदै गर्दा दायाँतर्फ पारितिर देखाउँदै केदार नेपालले भने “ऊ त्यही बाटो आएका रे देवकोटा, त्यहाँबाट कोल्पुखोला झरेर कोल्पुटार निस्केर यता उक्लिएका रे” थपे, “स्वयम्भू, रामकोट, भीमढुङ्गा हुँदै नुवाकोट छिरेका रे ।” 

उमेरले हामीभन्दा कान्छा उनले पनि देखेका त होइनन्, अग्रजहरूले भनेको सुनेका र त्यही सुनाइ हाम्रासामु जस्ताको तस्तै राखेका हुन् ‘रे’ जोडेर ।

हामी मुन्टो हल्लाउँछौँ, देवकोटा देखिइहाल्छन् कि भने झैँ, उनले देखाएतिर आँखा तन्काउँछौ, कौतूलहपूर्ण दृष्टि फाल्छौँ उतैतिर र देवकोटाले साँगुरो बाटोमा लमक्लमक् पाइला चालिरहेको कल्पना गर्छाैं ।  

बाटो फाट्ने ठाउँ भेटियो अलि माथि पुग्दा । “गुह्येपीपल भन्थे, यहाँनेर थियो बडेमानको बोट, म¥यो”, केदार भन्छन्, “मलमूत्र त्याग गर्ने थलो बनेको भएर त्यस्तो गरिएको रे ।”

पवित्र मानिने पीपलको बोटमाथिको यो अन्याय सुनेर हामीलाई दुःख लाग्छ । 

यसभन्दा अगाडि बाक्लो नेवार बस्ती छ । त्यहाँ पुगेपछि टेम्पो रोकिन्छ, हामी ढिस्कोमाथि उक्लन्छौँ । यो अग्लो ठाउँमा फराकिलो समथर भाग छ ढुङ्गा छापिएको ।   

“यो डबली हो, यहाँ लाखे नाच हुन्छ, नेवार परम्परा अनुसारका जात्रा लाग्छन्,” त्यहीँ पुग्दा भेटिएपछि अभिवादन गर्दै हामीसँग परिचय गर्न आएका गोकर्ण नेपाल भन्छन्, जो स्थानीय जनप्रतिनिधि पनि हुन् । उनी यहाँबाट देखिएका ठाउँका नामहरू बताउन थाल्छन् । यहीँ नै कामरु देवी मावि, बेलकोटगढी न.पा. ५, डबली, नुवाकोट, २०२१ को परिचय बोकेको विद्यालय छ । स्थानीय कामरु देवी (कुमारीमाई) मन्दिरको नामबाट विद्यालयको नामकरण भएको रहेछ ।

डबलीबाट हेर्दा उत्तर र पश्चितर्फका आँखै नहटाएर हेरिरहुँ जस्ता सुन्दर दृश्य देखिए । हरियाली, बाक्लो बस्ती, लमतन्न सुतेको नागबेली सडक अनि दायाँबायाँका फाँट सिँच्दै बहिरहेको गतिमान त्रिशूली । हामी आँखा परपरसम्म पु-याएर दृश्यहरू मात्र हेर्दैनौँ, देखिएका ठाउँको नाम सोध्न थाल्छौँ एकएक गरेर । सुनेका तर नदेखेका ठाउँहरूको अवस्थिति थाहा हुन्छ । तादी, देवीघाट, बट्टार आदि देखिन्छन् ।

जता हे¥यो उतैको दृश्य मनमोहक र सुन्दर देखिन्छ यहाँबाट । हरियाली छ, तरेली परेका पहाड, ठाउँ ठाउँमा बाक्लो बस्ती, अनि परतिर कुहिरोमा लुकेका छन् हिमाल । “आहा ! कुहिरो खलनायक नबनिदिएको भए कति राम्रो देखिँदो हो हिमाली शृङ्खला !” हामी चुक्चुकाउँछौँ ।

यहाँबाट सेरोफेरो हेरिरहँदा लाग्छ गाउँहरूलाई जबर्जस्ती नगरको बिल्ला भिराइदिएको छ राज्यले र यसो गरेर गाउँहरूमाथि अन्याय गरेको छ  । न पूर्वाधार छन् न कुनै सुविधा नै तर ‘नगर’को बोझ बोक्नुपरेको छ, यो पनि कुनै नगर होइन, विशुद्ध गाउँ हो तर ‘नगर’ हुनुको बोझ बोकिरहेको छ यसले पनि । 

त्यसपछि सरासर नेपाल वंशको मूल थलोतर्फ सोझिन्छ हाम्रो यात्रा । झिल्टुङ नेपाल समाजको कार्यालय हुँदै नेपाल वंशको मूलथलो पुग्छौँ । केहीबेरको बसाइ निर्माणाधीन पुस्तकालयसहितको सामुदायिक भवनको अवलोकन एवं वंशका बारे खोजीखन्तरीपछि घ्याम्पे चौतारी हुँदै फर्केर गुह्येपीपल आउँछौँ र दायाँतर्फ उकालो लाग्छौँ । नेपाल वंशको मूल थलोमा पुग्दै गर्दादेखि नै त्यसभेगका सव्रिmय युवा नारायण नेपाल जोडिइसकेका छन् हाम्रो टोलीमा र झिल्टुङको इतिहासका अध्येता एवं अभियन्ता उनीबाट धेरै कुरा बुझ्ने मौका पाउँछौँ हामी ।

देवकोटाको अनुहार आँखामा नाचिरहेकै छ यो पाखोपखेरो चहार्दा । यहीँनेर स्मरणमा आउँछन् झन्डै छ वर्षअघि सिक्किम यात्राका व्रmममा गान्तोकका ट्याक्सी चालक युवा । उनी भन्थे, “मुनामदन र त्यसका लेखक असाध्य मनपर्छ, नाम चाहिँ बिर्सें ।” 

मैले लक्ष्मीप्रसाद देवकोटा भन्नासाथ उनले हाँस्दै भनेका थिए, “हो हो महाकवि, मनमा आयो मुखमा मात्रै नआएको ।” यसपछि उनले ‘नटिप्नुु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ भन्ने पङ्क्ति चाहिँ कण्ठै सुनाएका थिए ।

सिक्किमको आधिकारिक भाषा नेपाली हो । नेपाली समुदाय बहुल सिक्किममा नेपाली भाषा र साहित्यको पढाइ हुन्छ । नेपाली मूलका ट्याक्सी चालक पढाइका दृष्टिले भलै विद्यालय शिक्षामै सीमित रहेछन् तर पनि ती पङ्क्ति कण्ठस्थ रहेछ उनलाई । 

महाकवि देवकोटाको नाम नसुन्ने को होला जो नेपाली भाषा प्रयोग गर्छ, नेपाली भाषालाई प्रेम गर्छ र नेपाली साहित्य पढेको छ ? साँच्चिकै अद्वितीय प्रतिभा थिए उनी । अझैसम्म उनलाई टक्कर दिने अर्को कोही देखानपर्नुले पनि यो पुष्टि गर्छ । 

०००

साँच्चिकै अद्भूत क्षमताका थिए महाकवि देवकोटा । त्यसैले त उनका सिर्जना लोकप्रिय मात्र भएनन् कालजयी पनि बने । मुनामदनले सबैभन्दा बढी बिव्रmी हुने पुस्तकको कीर्तिमान राखेकै छ । 

विषयवस्तु चयन मात्रै होइन भाषा शैली र प्रस्तुतिका कारण पनि देवकोटा धेरै पढिए, उनका कृति अमर भए । यद्यपि उनले लेखेका कतिपय निबन्धको छेउटुप्पो थाहा नपाइने र यसै यसै कताकता उडे, बहकिए जस्तो पनि नलाग्ने होइन तर समग्रमा देवकोटा सबैका प्रिय भए, छन् र रहने छन् ।  

धेरै छन् देवकोटा गरिब थिए भन्नेहरू । तर अग्रज साहित्यकार एवं वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, जसले देवकोटाको जीवनलाई नजिकबाट देख्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “हावा कुरा हो, त्यतिबेलै साइकल चढेर हिँड्ने र आँप किन्नुपर्दा टोकरी नै किन्न सक्ने मानिस पनि कहीँ गरिब हुन्छ ?”

०००

कोल्पुटार, झिल्टुङ, खड्काछाप आदि स्थानको उल्लेख छ ‘पहाडी जीवन’ मा, अब हामी ती ठाउँको खोजीमा लाग्यौँ ।  थाहा भयो देवकोटाका ती सिर्जना त नेपाल वंशकै एक अग्रजको घरमा पो जन्मेका रहेछन् ।

त्यतै सोझियो हाम्रो यात्रा ।

सल्लाघारी छिचोल्दै पुगियो खड्काछाप । 

चल्तीफिर्तीको भए पो सजिलो हुन्थ्यो, फाटफुट मात्रै पाइला पर्ने बाटो कहाँ सजिलो हुनु ? तर बिग्रेभत्केका ठाउँमा बाटो सम्याउँदै र मिलाउँदै तीन पाङ्ग्रेका लागि सहज बनाए गोकर्ण र नारायण नेपालले र हाम्रो यात्रा लक्ष्यसम्म पुग्न सम्भव भयो ।  

महाकवि देवकोटाले ‘पहाडी जीवन’ निबन्ध र सिङ्गो खण्डकाव्य ‘कुञ्जिनी’ जन्माएको ठाउँ नेपाल वंशको एक प्रमुख थलोसँग जोडिएको कुरो थाहा पाएदेखि नै खुल्दुली लागेको थियो कस्तो होला त्यो ठाउँ ? एक पटक पुग्नै पर्छ ।

सोधखोज गर्दै बुझ्दै जाँदा थाहा भयो टाढा होइन, नजिकै छ काठमाडौँबाट, देवकोटा हिँडेरै पुगेको ठाउँ त हो यो । तर तारतम्य मिल्नुप¥यो दिन आउनुप¥यो, यसै कहाँ हुन्थ्यो र ? त्यसैले यहाँ आइपुग्न केही समय लाग्यो ।

०००

“यहीँ थियो देवकोटा बसेको घर ।” झाडीले ढाकेको समथर ठाउँ देखाउँदै केदारले भने । सँगै रहेका मदन नेपालले भने, “यहीँ थियो हाम्रो घर ।” 

घर थियो भन्न सकिने लगभग कुनै आधार छैन त्यहाँ, मात्र ठाउँ ठाउँमा ढुङ्गा माटोको थुप्रो अनि झाडी छ ।

“यस्तो ऐतिहासिक थलोको त संरक्षण गर्नुपर्ने नि !” हामीलाई लाग्यो र त्यसै भन्यौँ ।

कुरा कोट्याएपछि मदनले भने, “महìव हुनेलाई पो महìव हुन्छ, नहुनेलाई के मतलव ? अरू त अरू कलात्मक झ्याल–ढोका संरक्षण गर्ने प्रयास पनि सफल भएन, जसको स्वामित्वमा थियो यो, उनको असहयोगका कारण ।”

सुन्दा लाग्यो उनको मन नराम्ररी दुःखेको रहेछ यसबाट, हामीले खाटा बसिसकेको घाउ कोट्याइदिएर गल्ती ग¥यौँ ।

हामीले फोटो खिच्यौँ त्यही झाडीको र झाडीलाई पृष्ठभूमिमा राखेर हाम्रो सामूहिक । ढिस्कोमाथिबाट हेरिरहेका थिए आँप, लिची आदिका पुराना बोट, जुन उहीबेला देखिका हुन् ।

“यी उहिलेका बोट हुन्,” मदनले भने ।  

०००

होचो ढिस्को उक्लेर यस्सो माथि निस्की पल्लोपट्टि लाग्छौँ हामी ।

निकै पुराना बरपीपलका बोटसहितको चौतारी रहेछ यहाँ ढुङ्गा छापेको । मन्द मन्द हावा चलिरहेको छ चौतारीमा । 

“यहाँ पढाइन्थ्यो रे उहिले त्यसैले यसलाई पाठशाला पनि भन्छन्,” नारायण नेपालले भने । अक्षर चिनाउने काम हुँदोरहेछ यहाँ, सायद यिनै ढुङ्गाले सिलोटको काम गर्थे !  

पहिले घर भएको ठाउँ र चौतारी नजिकै भए पनि दृश्यहरू फरक देखिँदारहेछन् यहाँबाट । एकातिरबाट दक्षिणपूर्वको अर्कोतिरबाट दक्षिण पश्चिमका सुन्दर दृश्य देखिँदारहेछन् । कोल्पु खोला र अलि तल महेश खोला त्रिशूलीमा समाहित भएका स्थान अनि पूरै कोल्पुटार, गल्छी सेरोफेरो छर्लङ्गै देखिँदोरहेछ यहाँबाट ।

यहाँ पुग्दा आँखामा नाचिरहे देवकोटा, देवकोटै देवकोटा देख्यौँ हामीले सबैतिर । देवकोटाका पाइला परेका ठाउँमा उभिइरहँदा उनलाई देखिरह्यौँ हामीले । अनुमान ग¥यौँ यतै बसेर लेख्दा हुन् महाकवि । लेखनका लागि शान्त, सुरम्य वातावरण आवश्यक हुन्छ, अहिले त यहाँ यस्तो अवस्था छ भने उबेला झन् कस्तो हुँदो हो ?   मनमनै भन्यौँ यिनै ढुङ्गामा बसेहोलान्, यिनैसँग लडे, झगडा गरे होलान्, यिनैबाट सिके, शिक्षा लिए होलान् कतिपय विषयमा देवकोटाले र देवकोटालाई महाकवि बनाउन सहयोगी बन्यो यहाँको ढुङ्गा माटो । 

हामीले अनुमान ग¥यौँ उनले ती कालजयी सिर्जना गरेको घरआँगन त अहिले सबुत छैन, ढड्डाघारी बनेको छ, मिल्किएको छ उपयोगविहीन । तर उनले त्रिशूलीको प्रवाह र धादिङ, नुवाकोटका सुन्दर दृश्य नियालेको र सिर्जनशक्ति प्राप्त गरेको चौतारीका बरपीपल समयका साक्षी बनेर खडा नै छन् उमेरसँगै अवस्थामा परिवर्तन आए पनि । 

केदार नेपालले केही तल नजिकै रहेको पीपलको बोटलाई देखाउँदै भने, “ऊ त्यो चाहिँ सानी पीपल हो, यो चौतारीको चाहिँ ठुली पीपल ।”  

०००

कोल्पुटार, गल्छी हुँदै बस्तीहरू काठमाडौँतिर हानिएपछि खड्काछाप अचेल सुनसान जस्तै छ । कुनै समय निकै चहलपहल हुने यो थलो उपेक्षित जस्तो भएको रहेछ । भनिन्छ समय शक्तिशाली हुन्छ, सायद समयकै कारण यो अहिले यस्तो भएको हो । 

निर्जन जस्तो बनेको रहेछ देवकोटाले त्यस्ता गहकिला सिर्जना गरेको थलो तर स्थानीय समाजसेवी र जागरुक अगुवाहरू यस स्थानको पहिचान जोगाउन प्रयत्नरत छन् । यसैको परिणाम, खुसीको कुरा छेवैमा बनिरहेको छ कुञ्जिनी उद्यान । काँडे तारले घेरिएको खाली स्थानमा बनेको एक स्तम्भलाई देखाउँदै केदार नेपाल र नारायण नेपाल एकै स्वरमा भन्छन्, “यहाँ देवकोटाको सालिक रहन्छ र यसैमार्फत देवकोटालाई जीवन्त राख्दैछौँ ।”

सुनेर हामीलाई खुसी लाग्छ । हामी अर्थात् युवराज नयाघरे र मैले एकसाथ सुझाव दिन्छौँ “ठुलो निधार, तेजिला बडेबडे आँखासहितको सुन्दर एवं वास्तविक सालिक बनोस् भन्ने चाहन्छौँ, कहाँ बनाउनुहुन्छ ? कसले बनाउँछ ? अनुहार, जिउडाल, पहिरन सबै देवकोटाकै होस् है, खर्च बढी लाग्ला तर साँच्चिकै देवकोटा बनाउनुहोला ।” हामीले ठाउँ ठाउँमा देवकोटाको नाममा विरूप सालिकहरू देखेका सन्दर्भ उप्काउँदै भन्यौँ, “त्यसो गर्नु देवकोटामाथि अन्याय हुन्छ, त्यसो गर्दा देवकोटाको अपमान हुन्छ ।”

चौतारीमुनिको फराकिलो बाटो देखाउँदै स्थानीय जनप्रतिनिधि गोकर्ण नेपाल भन्छन्, “यो सडक छ नि हामी अहिले यहाँसम्म आएको र अब कोल्पुटार झर्ने, यसको नाम नै महाकवि लक्ष्मीप्रसाद देवकोटा सडक राखेका छौँ र यसको स्तरोन्नतिका लागि यस पटक प्रदेश सरकारबाट बजेट परेको छ  ।” 

सुन्दा अत्यन्त खुसी लाग्यो, गोरेटो जस्तो मात्रै रहेको यो सडकको स्तरोन्नति मात्रै होइन एक दिन कालोपत्रे हुने छ, आवागमन सहज भएसँगै यहाँ आगन्तुकहरूको ओइरो लाग्ने छ र सम्झाइरहने छ महाकविलाई ।  

०००

“के के सुन्नुभयो त देवकोटा यहाँ आउनुका कारण बारेमा तपाईंहरूले अग्रजहरूबाट ?” कुञ्जिनी उद्यान सामु उभिएका हामीले सोध्यौँ । 

यस प्रश्नको जवाफमा केदार नेपाल, गोकर्ण नेपाल र नारायण नेपाल तीनै जनाको कुरा एउटै आयो, “हामीले सुनेको देवकोटालाई पारिवारिक चिन्ता परेको थियो, शोकमा परेका र उनको मन अशान्त थियो रे । त्यसैले शान्तिको खोजीमा यता आएका रे मामे ससुरालीमा । यहाँ आउँदा र रहँदा पनि उनको मन केही अशान्त नै थियो रे । बेलाबेलामा अस्वाभाविक व्यवहार गर्थे रे ।” “त्यस्तो बेला मामे ससुरा, हाम्रा हजुरबाले उनलाई ठाउँमा ल्याउनुहुन्थ्यो रे” मदन नेपालले थपे ।

०००

भनिन्छ देवकोटा साँच्चिकै भिन्न थिए । अरूभन्दा फरक सोच, फरक शैली, फरक व्यवहार आदि आदि । तर उनी अद्भुत क्षमताका थिए । उनको व्यवहार पनि फरक खालको हुँदोहो । मेरो स्मरणमा आए झन्डै चार दशक अघि कवि केदारमान व्यथित, जो देवकोटाका समकालीन थिए, उनको ज्याठास्थित निवासमा भेट्दा उनले देवकोटाका बारेमा सुनाएका कुरा, उनी सुनाउँथे, हिमाल देखिने ठाउँमा बसिरहँदा भन्थे, “हेर कति राम्रो हिमाल, जाऊँ हिमाल चढ्न” र बाटो लागिहाल्थे, अनि रोक्नुपथ्र्यो रे उनलाई ।

जहाँसम्म सिर्जनाको कुरा हो, प्राकृतिक सुन्दरताले भरिपूर्ण खोलानाला, डाँडाकाँडादेखि थोरै माथितिर उक्लँदा उत्तरतर्फ त्रिशूली नदी छेउका सुन्दर फाँट, बस्तीहरू, तरेली परेका पहाड, अनि लामो हिमाली शृङ्खलासमेत देख्न सकिने र यता पूर्व, पश्चिम र दक्षिण सबैतिर परपरसम्म नियाल्न सकिने खड्काछाप र सिङ्गो झिल्टुङको सुन्दरता आफैँमा अवर्णनीय छ भने देवकोटा जस्ता सर्जकले त्यस ठाउँमा रहँदा समयको सदुपयोग गर्दै सिर्जनामा नरमाएर अरू के नै पो गर्थे र ?

कहिले उकालो चढेर माथितिर गए होलान्, उत्तरतर्फ फर्केर त्रिशूलीको प्रवाह र दायाँबायाँको फाँट नियाले होलान्, पर देखिने हिमशृङ्खला नियाले होलान् कहिले त्यही चौतारीमा बसेर प्रकृतिसँग रमाए होलान्, तिनलाई हेर्दै सिर्जना गरे होलान् देवकोटाले । 

‘पहाडी जीवन’ मा देवकोटाले झिल्टुङको तत्कालीन परिवेशको चित्रण गरेका छन्, समाज, रीतिथिति, परम्परा, खानपान, पहिरन, महिला र पुरुषका कामकाज अनि समग्र जीवनशैली आदि बारे उल्लेख गरेका छन् । त्यतिखेरको समाजको चित्र कोरेका छन् सो निबन्धमा । यस निबन्धमा देवकोटाले ग्रामीण जीवनको स्वच्छता, इमानदारिता र आत्मनिर्भरताका पक्षलाई पनि उजागर गरेका छन् ।

०००

त्यही झिल्टुङ पुग्ने लामो समयदेखिको चाहना समयले जुरायो र पुगियो । स्थानीय बन्धुहरूको साथ र सहयोगमा झन्डै पाँच घण्टा कोल्पुटार–झिल्टुङ–खड्काछाप चाहारियो । यहाँ पुग्दा एउटा गोलीले दुई सिकार गरियो एकातिर बहुप्रतीक्षित कुलको थलो टेकियो अर्को, महाकवि देवकोटासँग जोडिएको स्थानको अवालोकन गरियो । 

झिल्टुङको सेरोफेरो चहारेर स्थानीय बन्धुहरूसँग बिदा भई काठमाडौँ फर्कंदा मन प्रफुल्ल मात्र भएन त्यो आत्मीयता र सद्भाव अनि त्यही झिल्टुङ आँखामा झलझली नाचिरह्यो, नाचिरहेछ र नाचिरहनेछ जीवनभर ।