• १८ वैशाख २०८१, मङ्गलबार

अपि हिमालको आधार पर्यटन प्रवर्धन

blog

भक्तसिंह ठेकरे बोहोरा अध्यक्ष, अपि हिमाल गाउँपालिका

दार्चुला सदरमुकाम खलङ्गादेखि २३ कोस टाढा रहेको अपि हिमाल गाउँपालिकाभित्र साबिकको खण्डेश्वरी र घुसा गाविस पूरै, गुल्जर र शितोला गाविसका केही भाग समेटेर छ वडामा विभाजन गरिएको छ । ६१३.९५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो पालिकाको पूर्वमा बझाङ, पश्चिममा नौगाड गाउँपालिका, दक्षिणमा मार्मा गाउँपालिका र उत्तरमा व्यास गाउँपालिका छन् । करिब सात हजार जनसङ्ख्या रहेको यस पालिकामा सुदूरपश्चिमकै अग्लो हिमाल अपि हिमालसहित नाम्पा, कापचुली र जेठी बौरानी रहेका छन् । 

सुर्मासरोवर, शिद्ध मकरीकोट, क्षत्ती, खात्ती, चमेलियाको मुहानलगायत सम्पदा यहाँ अवस्थित छन् । भौगोलिक विकट भए पनि प्राकृतिक सम्पदाले भरिपूर्ण अपि हिमाल पालिकामा कृषि, जडीबुडी र पर्यटनको प्रचुर सम्भावना रहेको छ । नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भक्तसिंह ठेकरे बोहोराले  गर्नुभएका रचनात्मक कामका सम्बन्धमा गोरखापत्रका दार्चुला समाचारदाता लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको कुराकानी :

अपि हिमालमा विकासको अवस्था कस्तो छ ? 

अपि हिमाल दार्चुलाको विकट र सुदूरपश्चिमको अन्तिम गाउँपालिका हो । दुर्गम हुँदाहुँदै पनि थुप्रै सम्भावना बोकेको गाउँपालिका पनि हो । अग्लो हिमाल अपि, जडीबुडी र जलस्रोतको हिसाबले भरिपूर्ण भए पनि विभिन्न चुनौतीसँगै अवसर पनि छ । निर्वाचित भएर आइसकेपछि समग्र विकास निर्माणको कामलाई अघि बढाउन खोजिरहेका छौँ । खास गरी कृषि र पर्यटन विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधारतर्फ सडक सञ्जाललाई जोड्न प्रयत्नशील छौँ । विद्युत्को राष्ट्रिय प्रसारण जोड्ने काम भइरहेको छ । भौतिक, सामाजिक र आर्थिक विकासका लागि योजनाबद्ध ढङ्गले अघि बढिरहेका छौँ । 

सडक र विद्युत्को पहुँच विस्तारमा ढिलाइ किन भइरहेको छ ?

भौगोलिक रूपमा विकट र कठिन चट्टानी भूभाग भएकाले गाउँपालिकाको बजेटबाट ठुला पूर्वाधारका योजना निर्माण गर्न सम्भव छैन । अहिले मकरीगाडबाट पालिकाको केन्द्र खण्डेश्वरी जोड्न सडक निर्माण भइरहेको छ तर केन्द्र र प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा अपेक्षित प्रगति हुन सकेको छैन । छिट्टै गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउने गरेर पहल गरिरहेका छौँ । विद्युत्को राष्ट्रिय प्रसारण लाइन नपुगेको भए पनि स्थानीय माइक्रोहाइड्रो (लघुजलविद्युत्) बाट चार वडामा विद्युत् बलेको छ । 

केन्द्र र प्रदेश सरकारसँग समन्वय कस्तो छ ?

सङ्घीयताको तीन महत्वपूर्ण तह सङ्घ, प्रदेश र स्थानीय सरकार सहअस्तित्व, समन्वय र सहकार्यबाट चल्नुपर्ने हो । तीनै तहको उद्देश्य स्थानीय जनतालाई सेवा सुविधा दिने नै हो तर सङ्घीय र प्रदेश सरकारमा पुरानो ढर्राको बजेट बन्ने, प्रभावशाली नेताहरूकै क्षेत्रमा बजेट जाने र दुर्गम क्षेत्रलाई विभेद हुने गरेको छ । जनसङ्ख्यालाई आधार मान्दा दुर्गम क्षेत्रमा न्यून बजेट आउने गरेकाले राज्यले जनसङ्ख्याका साथसाथै भूगोललाई पनि आधार मानेर लगानी गर्नुपर्ने आवश्यकता छ । केन्द्र र प्रदेशले दुर्गम तथा विकट क्षेत्रलाई हेर्ने नजर र गर्ने व्यवहार सच्याउनु पर्छ । 

बेरोजगारीका कारण युवा विदेश पलायन भइरहेका छन् । रोजगारी सिर्जनाका लागि तपाईंका योजना के के छन् ?

यो नेपालकै समस्या हो । नीतिगत रूपमै हल गर्नु पर्छ । रोजगारी सिर्जनाका लागि नेपालको प्रमुख पर्यटन क्षेत्र नै हो । हिमाल, प्राकृतिक स्रोत, साधन र सम्पदा भएको पालिकामा सडकको पहुँच, पदमार्ग, पर्यटकीय क्षेत्र निर्माण गरेर विदेशी सजिलै भित्र्याएर युवा रोजगारी सिर्जना गर्न सकिन्छ । रोजगारीको अर्को क्षेत्र भनेको कृषि हो । अपि हिमालमा पाइने जडीबुटीको प्रशोधन गर्न सकियो भने धेरैलाई रोजगारी दिन सकिन्छ । अहिले पनि नेपालको जडीबुटी सस्तो मूल्यमा बिदेसिने र औषधी बनेर महँगोमा नेपालमै भित्रिने अवस्था छ । प्रशोधन नेपालमै गर्न सके किसानले दुई÷तीन गुणा बढी मूल्य पाउने छन् ।

पर्यटन प्रवर्धनका लागि अपि हिमालका विशेषता के के हुन् ?

प्राकृतिक रूपमा निकै सुन्दर छ अपि हिमाल । सुदूरपश्चिमकै सबैभन्दा अग्लो ७,१३२ मिटरको अपि हिमालका साथै छ हजार मिटरमाथिका १६ हिमाल यसै गाउँपालिकामा पर्छन् । नेपालको सस्तो र छोटो पर्यटकीय गन्तव्यका रूपमा अपि बेसक्याम्प घुम्न सकिन्छ । काठमाडौँबाट एक हप्ताको प्याकेजमा पुग्न सकिने बेसक्याम्पको यात्राका क्रममा संस्कृति, होमस्टे, स्थानीय खानाका परिकार, अपिनाम्पा संरक्षण क्षेत्र भएकाले दुर्लभ हिमाली जीवजन्तु, पवित्र चमेलिया नदीको मुहान, कालीढुङ्गा ताल, नाम्पा बेसक्याम्प, हिमाल फेदका पाटन हेर्न र घुम्न सकिन्छ । पदमार्गमा पर्यटकीय आधारभूत पूर्वाधार निर्माण गरिएका छन् । साढे चार किलोमिटर शिद्ध मकरीकोट पदमार्ग, १६ किलोमिटर लामो खायकोट पदमार्ग, बिच बिचमा विश्राम केन्द्र, खाना, बाँसको राम्रो सुविधासहित पर्यटकीय आवास गृहहरू निर्माण गरिएका छन् । ठाउँ ठाउँमा पर्यटकीय सूचना बोर्ड राख्नुका साथै मकरीकोटमा पर्यटकीय सूचना केन्द्रसमेत स्थापना गरिएको छ । 

शिक्षा क्षेत्रको विकासका कार्ययोजना के के छन् ?

शिक्षा सामाजिक विकासको मेरुदण्ड हो । विद्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न गर्ने योजना छ । कक्षागत र विषयगत दरबन्दी दिइएको छ । शिक्षकलाई तालिम दिने, कक्षाकोठा सुधार गर्दै प्रविधिमैत्री कक्षा निर्माण गर्ने, डिजिटलमैत्री पठनपाठन गर्ने काम गरिरहेका छौँ । 

स्वास्थ्य क्षेत्र र शुद्ध खानेपानी पहुँचको अवस्था कस्तो छ ?

आधारभूत स्वास्थ्य सेवाबाहेक विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौँ । हामीसँग दुई वटा स्वास्थ्य चौकी, अन्य चार वटा सामुदायिक स्वास्थ्य केन्द्र र केही बर्थिङ सेन्टरबाट स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ । सडकमार्गबाट एम्बुलेन्स सेवा प्रदान गरिएको छ । १० सय्याको अस्पताल निर्माणाधीन अवस्थामा रहेकाले भवन निर्माण सम्पन्न भइसकेपछि पालिकाबाटै विशेषज्ञ चिकित्सकसहितको सेवा दिने तयारीमा छौँ । शुद्ध एक घर एक धारा खानेपानी उपलब्ध छ । ९० प्रतिशत बढी घरधुरीमा धारा निर्माण गरेर खानेपानी, सरसफाइ, करेसाबारी व्यवस्थापन गरिएको छ । 

स्थानीय तहमा काम गर्दा चुनौती के के छन् ?

स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । मानिसका दिनानुदिनका समस्या पालिकासम्म पुग्ने गरेका छन् । आर्थिक स्रोतसाधनको अभाव हाम्रो प्रमुख समस्या हो । सीमित स्रोतसाधनबाट समेत जनताका समस्या समाधान गर्न प्रयत्नशील छौँ । युवा स्वरोजगार कोषसँग मिलेर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने प्रयास गरिरहेका छौँ । सबै सङ्घसंस्था, स्थानीय, प्रदेश र सङ्घ सरकारका साथै सरोकारवालाहरूको साथ सहयोगको अपेक्षा छ । सबैसँग हातेमालो गरेर निकट भविष्यमै सुन्दर, समृद्ध र विकसित अपि हिमाल बनाउन सकिनेमा विश्वस्त छु ।