रमेश विश्वकर्मा
गुल्मी, चैत २८ गते । वन उपभोक्ता समितिमा आर्थिक सुशासनको पाटो निकै कमजोर देखिएको छ । सामुदायिक वन उपभोक्ता समितिहरुमा लेखा व्यवस्थापन र संस्थागत क्षमता कमजोर देखिएको बताइएको छ ।
लुम्बिनी प्रदेश वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका सचिव मोहनराज काफ्लेले सामुदायिक वन उपभोक्ता समितिमा कानुनको परिपालना गर्नुका साथै आर्थिक सुशासन कायम राख्न जरुरी रहेको बताउनुभयो । गुल्मीको रेसुङ्गा नगरपालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समितिका लागि आयोजित क्षमता विकास गोष्ठीमा उहाँले सामुदायिक वनको आम्दानीको परिचालनका विषयमा समस्या देखिएको वनको संरक्षणका लागि वृक्षारोपण, अग्निरेखा निर्माण लगायतका कार्य गरी वन डढेलो हुनबाट रोक्नुपर्ने भन्दै राष्ट्रिय वनको संरक्षणका लागि सहजिकरण र समन्वय गर्दै आएको बताउनुभयो ।
वन निर्देशनालय लुम्बिनी प्रदेश बुटवल, रुपन्देहीका वन निर्देशक दधिलाल कँडेलले वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी जानकारी गराउनुभयो । उहाँले नेपालमा मानवीय कारणले मात्रै वन डढेलो र आगलागीका घटनाहरु हुने गरेको भन्दै नेपालमा हरेक वर्ष व्यापक रुपमा वन डढेलोले आक्रान्त बनाउनुका साथै यहाँ हुने सबै वन डढेलोका घटनाहरु मानव–सृजित घटना भएको बताउनुभयो । नेपालका ५८ प्रतिशत वन डढेलो पशुचौपाय वन जङ्गलमा चराउने, वनमा वन्यजन्तुको अवैध शिकार गर्ने र जडिबुटि तथा गैरकाष्ठ वन पैदावार संकलन गर्ने व्यक्तिहरुबाट लाग्ने र लगाउने गरिएको बताउनुभयो ।
डिभिजन वन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत प्रभात सापकोटाले सामुदायिक वनको अवधारणा, ऐन नियमावलीको व्यवस्था, संरक्षित वन र यसको मर्म, गुल्मीमा वन क्षेत्रका सम्भावनाका विषयमा जानकारी गराउँदै कृषि वन तथा प्रजातिहरु श्रीखण्ड, उत्तिस, खयर, ओखर, टिमुर, तेजपात लगायतबाट जिल्लाले राम्रो आर्थिक आम्दानी गर्न सक्ने बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले वनलाई नागरिकहरुको जीवनस्तर उकास्न र रोजगारी सिर्जना गर्नेतर्फ जोड्नुपर्ने भन्दै निजी क्षेत्र र सरकारी क्षेत्र मिलेर काम गर्न जरुरी रहेको बताउनुभयो । सुशासन नै विकासको मेरुदण्ड भएको भन्दै हरेक संघसंस्थाहरुमा सुशासन हुनुपर्ने बताउनुभयो । आवाधिक योजनाको जगमा नगरपालिका अगाडि बढिरहेको भन्दै शिक्षा, स्वास्थ्य, सडक, पर्यटन सबै क्षेत्रमा नगरपालिकाले फड्को मार्दै गएको उहाँको दाबी छ ।