• १२ साउन २०८१, शनिबार

सुनसरीमा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलको सामूहिक अपिल

blog

कर्फ्यु जारी भएपछि सुनसान भएको सुनसरी । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा, चैत २४ गते । सुनसरीका विभिन्न राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गरेको छ । शनिबार सामूहिक रूपमा अपिल जारी गर्दै आन्दोलनरत सबै पक्षलाई आफ्ना सब प्रकारका आन्दोलनका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न आग्रह गरेको हो । तीन दिनदेखि भइरहेको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवम् सम्बन्धित सबै पक्षलाई संयमित रहन सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध पक्षहरूले अपिल गरेको हो ।

शनिबार नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष भगीरथ खत्वे, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष योगेन्द्र मण्डल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष गोविन्द निरौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर दाहाल, नेकपा (एमाले)का रुद्रबहादुर बस्नेतसहितले संयुक्त अपिल जारी गर्नुभएको हो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको हुँदा सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैङ्गिक जस्ता पक्षहरूको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र सङ्कल्प भएको र सोहीअनुसार राज्य सञ्चालन हुँदै आएको ब्यहोरा हामी सबैमा विदितै छ भन्दै संयमित हुन आग्रह गरिएको जारी अपिलमा उल्लेख छ ।

संयुक्त अपिलमा भनिएको छ, “जिल्लाका केही स्थानमा विभिन्न किसिमका घटनाहरू घटन गई जिल्लाको समग्र शान्ति सुरक्षामा चुनौती थपिएको अवस्था छ । यसै सन्दर्भमा जिल्लाका केही स्थानमा कर्फ्यु समेत जारी भएको ब्यहोरा सम्पूर्णमा जानकारी नै छ । तर यस घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने किसिमका अभिव्यक्ति तथा सामग्रीहरू सामाजिक सञ्जालहरूमा पोष्ट गरेको पाइएकाले यस प्रकारका गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरिन्छ ।”

“मिश्रित बसोबास रहेको हाम्रो नेपाली समाज एकआपसमा आपसी भाइचारा कायम गरी बस्दै आएकोमा पछिल्लो घटनाक्रमलाई लिएर केही अराजक तत्त्वले सामाजिक सद्भाव बिथोल्न खोजेको प्रति हामी सबै राजनीतिक दलको खेद व्यक्त गर्दछौ ।,’’ अपिलमा भनिएको छ, ‘‘सबै धर्म एवम् सम्प्रदायबिच आपसी एकता, सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न र हाल घटेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै आन्दोलनरत सबै पक्षलाई आफ्ना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवम् सम्बन्धित सबै पक्षलाई संयमित रहन हामी सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध पक्षहरू हार्दिक अपिल गर्दछौँ ।”




यो पनि पढ्नुहोस

सुनसरीमा शनिबार पनि कर्फ्यु जारी

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु

हरिनगरामा झडप, दुई घाइते

सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु