• १० मंसिर २०८१, सोमबार

बामियान बुद्ध(कविता)

blog

चीत्कार, रोदन र कोलाजको धरहरा

चुलिएको बेला– 

खोज्न पर्दैन कान्तिपुरका गल्लीगल्ली

म–बामियान बुद्ध भेट्ने छौ

मनकै आकाशपुञ्जमा ढलिमली ...


धर्मको नाउँमा आगन्तुक परिधि बढाएर

मेरा पखेटाहरूलाई कन्ज्याएर

गर्भाधान कैयौँ आमाहरूलाई रक्ताम्य पारेर

तिमीले मेरा बुढी आमाहरूलाई विधवा बनाएर 

निर्धक्क हरायौ–

मेरा रगतका खोला बगाएर ब्यालेस्टिक हान्यौ

सिद्धार्थ बुद्धका सीमाहरू मिचेर बढ्यौ

अब आफ्नै अस्तित्वका लागि 

म बामियान बुद्ध उठ्ने छु ...


कोलाजको सगर चुलिएको बेला –

खोज्न पर्दैन अब ललितपुरका गल्लीगल्ली

मानवताका मूर्तिहरू मेरो देशबाट प्रस्थान गरिसके,

म जस्ता बामियान बुद्धहरू भेट्ने छौ,

छातीमा हात राखेर 

अब तिमी झस्कने छौ ...

भूगोलको अन्तरमा नखोज

म–बामियान बुद्ध भेट्ने छौ

मनकै आकाशपुञ्जमा ढलिमली ... !