• १० मंसिर २०८१, सोमबार

श्रद्धासुमन दधिराज दाइ

blog

राजनीति, साहित्य र संस्कृतिको राजधानी विराटनगर यसबेला दधिराज सुवेदीको अवसानबाट शोकमय हुन पुगेको छ । नेपाली साहित्यले अपूरणीय क्षति बेहोर्नु परेको यस घडीमा विराटनगरको साहित्यिक र सामाजिक क्षेत्रमा रिक्तता छाएको छ । ‘वरगाछी’ र दधिराज सुवेदी विराटनगरका पर्याय हुन् । सुवेदीको सक्रियताबाट वरगाछीले थुप्रै लेखक/कविलाई प्रकाशनमा ल्याएको कुरा स्मरणीय छ । सुवेदीले आफ्ना लेखनीका माध्यमबाट विराटनगरको ऐतिहासिकतामाथि प्रकाश पार्दै समग्र मोरङ जिल्लाको साहित्यिक–सांस्कृतिक वैभवलाई चिनाउन कुनै कसर बाँकी राख्नुभएको छैन । 

सत्तहत्तर वर्षअघि भोजपुरमा जन्मनुभएका सुवेदीले आफ्नो कर्मक्षेत्र विराटनगरलाई बनाएर नेपाली साहित्यलाई समृद्ध तुल्याउन जीवनको उत्तरार्धसम्म सक्रिय भूमिका निर्वाह गर्नुभएको देखिन्छ । विशेष समालोचना र अनुसन्धानका क्षेत्रमा कलम चलाउनुहुने सुवेदीले ‘मोरङमा नेपाली साहित्यको उत्पत्ति र विकास’ माथि अतुलनीय योगदान दिनुभएको छ । विसं २०६५ असोजमा प्रकाशित ‘डा. पवन चामलिङ स्रष्टा र सिर्जना’ मा मैले उहाँका बारेमा लेखेको चिनारी यहाँ राख्न सान्दर्भिक ठानेको छु । 

विसं २००३ साउन ४ गते भोजपुर जिल्लाको दिङ्लाबाट आफ्नो उद्भवको पहिलो स्वर खोल्नुहुने सुवेदी प्रारम्भमा कविता यात्राबाट नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो । बाल्यकालमा उहाँले आफ्नी आमाको सुरिलो स्वरबाट भानुभक्तीय रामायणका श्लोकहरू श्रवण गर्ने अवसर प्राप्त गर्नुभएको थियो । त्यसैबेलादेखि उहाँको अन्तश्चेतनाभित्र काव्यिक चेतनाको प्रस्फुटन हुन थालिसकेको रहेछ । 

कालान्तरमा सामाजिक सङ्घ संस्थातर्फको प्रवेश र साहित्यिक पत्रपत्रिकाको सम्पादन कार्यबाट उहाँभित्र एक प्रखर समालोचक व्यक्तित्व निर्माण भइसकेको थियो । त्यो क्रम उहाँको समालोचना क्षेत्रमै क्रियाशील रहेको देखिन्छ । उहाँ कन्या क्याम्पस विराटनगरमा उपप्राध्यापकका अतिरिक्त पूर्वाञ्चल विश्वविद्यालयका सूचना तथा जनसम्पर्क अधिकारीबाट सेवानिवृत्त भई अनुसन्धान र सामाजिक सेवातर्फ समर्पित  हुनुहुन्थ्यो । कविवर भानुभक्त पोखरेलका शब्दमा भन्ने हो भने सुवेदी विराटनगरको अलङ्कार हुनुहुन्थ्यो । 

सुवेदीका ‘नेपाली वाङ्मयका विशिष्ट साधक (समालोचना सङ्ग्रह, २०४४), पूर्वाञ्चल समालोचना सङ्ग्रह २०४४, मातृकाप्रसाद कोइरालाका कथा र उनको कथाशिल्प २०४४, प्रतिभा र प्रस्तुति (समालोचना सङ्ग्रह–२०४५), विश्वेश्वरप्रसाद कोइराला साहित्यको समग्र अध्ययन २०५१, काव्य–समालोचना २०५२, रचना र अवलोकन (समालोचना सङ्ग्रह २०५३), विराटनगरको सङ्क्षिप्त इतिहास २०५३, अध्ययन र मूल्याङ्कन (समालोचना सङ्ग्रह २०६१), अनुभव र अनुभूति (निबन्ध सङ्ग्रह २०६२), तीर्थयात्रा (धर्मसंस्कृति २०६७), नेपाली साहित्यका मुस्कानहरू (समालोचना सङ्ग्रह २०६९), सौन्दर्य (कविता सङ्ग्रह २०७१), जगत्गुरु बालसन्त (धर्मसंस्कृति २०६७), ऐतिहासिक विराटनगर (अन्वेषण २०७७), दधिराज सुवेदीका भूमिकाहरू २०७८, आत्मपरक निबन्धहरू २०७८ र आत्मवृत्तान्त जस्ता अनेक खोजमूलक कृति प्रकाशित छन् । 

पिताजी कृष्णप्रसाद कोइराला, धरणीधर कोइराला, महानन्द सापकोटा, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, पण्डित शोभाचन्द्र उपाध्याय खनाल, डा. पिनाकीप्रसाद आचार्य, सुशीला कोइराला, इन्दिरा आचार्य, देवकुमारी थापा, बालकृष्ण पोखरेल, डा. लक्ष्मण शास्त्री, गणेशप्रसाद शर्मा, मुक्तिप्रसाद चापागाईं, गेरुप्रसाद कोइराला, डा. गणेश भण्डारी, शान्ता पोखरेल, डा. शान्ति वनर्जी, राजकुमार पोखरेल, प्रतापनिधि शर्मा, तारिणीप्रसाद कोइराला, भानुभक्त पोखरेल, नरेन्द्र चापागाईं, शङ्कर चौलागाईं, विपिनदेव ढुङ्गेल, रानुदेवी अधिकारी, वासुदेव मुनाल, कृष्णभूषण वल, डिपी अधिकारी, लावण्य सापकोटा, चतुर्भुज आशावादी, कोषराज रेग्मी, वासु बराल, जितबहादुर अर्जेल, नारद ओझा, माधव खनाल 

‘भावुक’, माधवराज आचार्य, अनिरुद्ध तिम्सिना, डा. डिल्लीराम तिम्सिना, जवाहर रोका, दीपक आलोक, रामेश्वरप्रसाद अज्र्याल, पं. मेघराज शर्मा, धु्रवप्रसाद अज्र्याल, जेबी टुहुरे, कुमारबहादुर श्रेष्ठ र जयप्रसाद दाहाल जस्ता विभूतिको कर्मथलो रहेको विराटनगरमा सुवेदीले जीवनको अधिकांश हिस्सा साहित्य सिर्जना र समाजसेवामा अर्पण गर्नुभएको कुरा कसैबाट छिपेर रहेको छैन । 

शिष्ट, शालीन र मिलनसार चरित्रका धनी सुवेदी हामी सबैका ‘दधिराज दाई’) उहाँसित यही सम्बोधनले निकट रह्यौँ हामी । उहाँसित विसं २०३४ मङ्सिरताका विधिवत् परिचय भएको हो मेरो । उहाँ साहित्यकार । विशेष ‘डेमोक्र्याट’ लेखक । त्यसैले उहाँप्रति लगाव बढ्दै गएको हो मेरो । म २०५२ फागुनमा काठमाडौँ बसाइ नसरुन्जेलसम्म उहाँका सान्निध्यतामा रहेको थिएँ । 

काठमाडौँ आइसकेपछि पनि लेख रचना आदानप्रदान र सम्पर्क सञ्चार भइरहन्थ्यो उहाँसित । तिसको दशकतिर विरानगरभित्र हुने गरेका प्रायः सबै साहित्यिक सांस्कृतिक क्रियाकलापमा उहाँसित निकट रहेको छु म । उहाँले सम्पादन गर्नुभएको ‘वरगाछी’ र ‘संसार’ डाइजेस्टमा कति पटक मेरा रचना छाप्नुभएको छ । विराटनगरका लेखक कविहरूका लागि उहाँले निर्वाह गर्नुभएको प्रवर्धनात्मक भूमिकालाई त्यस कालको हाम्रो पुस्ताले बिर्सन सक्तैन । 

एउटा समय थियो विराटनगरमा, सुवेदी र नरेन्द्र चापागार्इंको जोडी उपस्थित नभएको साहित्यिक कार्यक्रम हुँदैनथ्यो । सर्जकलाई प्रवर्धन गर्न उहाँहरू दुवै जना मिलेर ‘प्रतिभा पुरस्कार प्रतिष्ठान’ स्थापना गर्नुभएको थियो । यो प्रतिष्ठानले क्षेत्रीय स्तरका प्रतिभादेखि राष्ट्रिय स्तरका प्रतिभालाई समेत बर्सेनि नगदराशिसहितको पुरस्कार वितरण गर्दै आइरहेको छ । काठमाडौँपछि विराटनगरलाई साहित्यिक राजधानी बनाउन दधिराज दाइले अथक मेहनत गर्नुभएको छ । दधिराज दाइ साहित्यिक व्यक्तिहरूका अतिरिक्त बालबालिका, युवा, वृद्धवृद्धा सबै वर्गका व्यक्तिसित मित्रवत् हुनुहुन्थ्यो । उहाँले केही प्राप्ति र सिद्धि हासिलको प्रतिस्पर्धामा कुनै उच्च आकाङ्क्षा राख्नुभएको देखिँदैनथ्यो । 

सधैँ एउटै गति थियो, सिर्जना, साधना र समर्पण भावको सेवा प्रवाह । एकैनास सामाजिक चेतना र जागरण अभियानमा जुटिरहनुभयो उहाँ । कुनै बेला गुराँस पुस्तकालयको गतिविधिमा उल्लेखनीय योगदान पु¥याउनुहुने दधिराज दाइले पछिल्लो समयमा ‘परोपकार सार्वजनिक पुस्तकालय’ को स्थापना गर्नुभएको थियो । यसका अतिरिक्त ज्येष्ठ नागरिकलाई प्रेम, सद्भाव र अभिभावकीय भूमिका निर्वाह गर्न विशेष योगदान दिँदै आइरहनुभएको थियो । 

उहाँले लेटरप्रेसको युगलाई झेल्नुप¥यो । अहिले जस्तो डिजिटलको समय थिएन । लेख रचनाहरू सङ्कलन, सम्पादन र प्रकाशन गर्न लेटरप्रेसको युगलाई झेल्नेहरूले ठुलै कठिनाइ र चुनौती बेहोर्नु पर्दथ्यो । हुलाकबाट विभिन्न ठाउँका लेखकले पठाएका हस्तलिखित रचनाहरू बटुलेर वाराणसी पु¥याउनु पर्दथ्यो । सोही क्रममा अनेक अनुसन्धानमूलक पुस्तक, विशेषाङ्क र साहित्यिक पत्रपत्रिका प्रकाशन गर्न सधैँ क्रियाशील रहनुभयो उहाँ तर निरन्तर लगनशील भएर अक्षर र लिपिहरूसित क्रीडारत दधिराज दाइ थाक्नुभएन कहिल्यै । उहाँको निष्ठा र लगनशीलता उदाहरणीय थियो । 

केही महिनाअघि उहाँको स्वास्थ्य खस्किँदै गइरहेको थियो । उहाँ कोटेश्वरस्थित आफ्ना सुपुत्र शरदराज सुवेदीका निवासमा स्वास्थ्यलाभ गर्ने क्रममा आराम गरेर बसिरहनुभएको थियो । म उहाँलाई भेट्न गएको थिएँ । उहाँ भन्दै हुनुहुन्थ्यो, “मेरो स्वास्थ्य ठिक हुँदै गइरहेको छ । अहिले म मर्दिनँ । अझै मैले धेरै काम गर्न बाँकी छ ।”

 मनमनै म उहाँको आत्मविश्वासलाई सराहना गर्दै गइरहेको थिएँ । उहाँको जीवनप्रतिको आस्था उदाहरणीय थियो । प्रारब्धको अगाडि कसैको केही लाग्दो रहेन छ । महायात्रामा प्रस्तान गर्नु नै भयो उहाँले । तथापि दधिराज दाइ, तपाईंले नश्वर शरीर मात्र त्याग्नुभएको हो । अहिले पनि तपार्इं अक्षरहरूमा जीवितै हुनुहुन्छ । तपार्इंले स्थापना गर्नुभएको पुस्तकालयहरूमा जीवितै हुनुहुन्छ । विराटनगरका हरेक साहित्यिक सांस्कृतिक क्रियाकलापमा तपाईं जीवित हुनुहुन्छ ।