सलिम मियाँ
बिजुवार, चैत २४ गते । बागलुङको निसीखोला गाउँपालिका चेलबाङ्का २२ वर्षीय निशान्त पुन मगरले भेडाबाख्रा चराउन थालेको सात वर्ष भयो । भेडापालन उहाँको पुख्र्यौली पेसा हो । बुवा एक्लैले भेडापालन गर्न नसक्ने भएपछि ८ कक्षामा पढ्दै गर्दा उहाँले पढाइ छाड्नु प¥यो । अहिले मगर भेडा चराउन बर्सेनि लेकबेँसी गरिरहनुहुन्छ ।
साढे पाँच सय भेडाको बथानसहित यतिखेर निशान्तले प्युठानको अर्खास्थित लेकाली भेगको मेलवास जङ्गलमा भेडाबाख्रा चराइरहनुभएको छ । हिउँ छल्न रुकुम, रोल्पाको उच्च पहाडी लेक चहार्दै अर्खाको गौमुखी जङ्गल क्षेत्रमा झरेको निशान्त पुन मगरले बताउनुभयो ।
उहाँको सिङ्गो परिवार यही पेसामै आश्रित छ । १४ वर्षकै कलिलो उमेरदेखि नै फिरन्ते जीवन बाँच्दै आउनुभएका उहाँले भन्नुभयो, “चरनको खोजीमा भेडाबाख्रा जता लगिन्छ, उतै घुम्ती गोठ बनाएर बस्ने गरेका छौँ ।” भेडीगोठहरू सरिरहन्छन् । गोठ छिटो छिटो सार्नुपर्ने भएकाले उति व्यवस्थित हुँदैनन् । गोठालाहरू त्रिपाल र ढुङ्गाले छाएका गोठमा बस्छन् । खाने खर्च र कपडा बोकेर उनीहरू भेडाको बथानसहित चरन क्षेत्रमा लेकबेँसी गरिरहन्छन् ।” वर्षमा झन्डै ११ महिना खुला आकाशमुनि जङ्गलमै रात बिताउने उहाँले हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने सुनाउनुभयो । जाडोयाममा हिउँ पर्न थालेपछि गोठमा काम गर्नेहरू घर फर्किन्छन् । उहाँले वर्षामा पाठापाठी हुर्काउन बढी समस्या हुने बताउनुभयो । मगरले भेडाबाख्रा चराउन ल्याएबापत स्थानीयलाई देवालीका लागि दुई भेडा र पाँच वर्षसम्म चरन क्षेत्रका लागि एक लाख रुपियाँ बुझाउनुभएको छ । उहाँले भन्नुभयो, “यो सिजनमा सधैँ आउँछौँ ।” यहाँ पोसिलो घाँस भएकाले भेडाबाख्रा निकै मोटा हुने उहाँले बताउनुभयो ।
एक सहयोगीसहित गत पुसमा यहाँ आउनुभएका मगर गर्मीयाम सुरु भएपछि भेडाबाख्रा लिएर ढोरपाटनको उकालो चढ्ने तरखरमा हुनुहुन्छ । उहाँले बागलुङको ढोरपाटन क्षेत्रको लेकाली भेगमा वैशाख दोस्रो सातासम्म फर्केर रुकुमका गोठालाहरूसँग भेडा मिसाएर चराउने बताउनुभयो । जङ्गली जनावरबाट भेडाबाख्रा जोगाउन चार वटा भोटे कुकुर पालिएका छन् । कुकुरले जङ्गली जनावरबाट जोगाउन मद्दत गर्छन् । भेडाबाख्रा पालनबाट वार्षिक ११ लाख रुपियाँ कमाउने मगर बताउनुहुन्छ । प्युठानसहित बागलुङ, रुकुम, रोल्पा तथा अन्य थुप्रै ठाउँबाट भेडाबाख्रा लिन चरन क्षेत्रमै ग्राहक आउँछन् । प्रतिभेडा १५ हजारदेखि २५ हजार रुपियाँसम्ममा बिक्री हुन्छ ।