• १६ असार २०८२, सोमबार

तम्घासको चिदीचौर पोखरीमा परिणत

blog

चिदीचौर खेलमैदान पोखरीको रुपमा परिणत । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), असार १६ गते ।
गुल्मीको तम्घासमा रहेको चिदीचौर खेल मैदान अहिले पोखरीको रुपमा परिणत भएको छ । हरेक दिन यहाँ खेल खेल्ने र साँझपख फ्रेस हुन आउनेको आमाबुबा र बालबच्चाहरुको भीड हुन्थ्यो । तर अहिले पोखरीमा परिणत भएपछि दुर्घटना हुन सक्ने जोखिम बढेको छ ।

यस पोखरीमा अहिले बालबालिकाहरु आमाबाबुको आँखा छलेर खेल्ने गरेकाछन् ।

चिदीचौरलाई अहिले पोखरी जस्तै बनाएर दुर्घटना निम्त्याउने स्थलका रुपमा परिणत गर्नु दुःखद पक्ष भएको उक्त खेल मैदानमा नानीबाबु लिएर आएका प्रकास घर्तीले दुखेसो गर्नुभयो । घरभित्र बालबच्चालाई राखिराख्नु भन्दा साँझपख बाहिरको वातावरणसँग घुलमिल गराउन यहाँ ल्याउँदा पछिल्लो समय झन दुर्घटनाको जोखिम बढेको उहाँको भनाइ छ । राम्रो बनाउने नाममा यसलाई व्यवस्थापन गर्न नसक्नुका साथै समयमा काम नगरी असारे विकासमा जोड दिनाले पनि जोखिम बढेको खेल मैदानमा आएकाहरुको गुनासो रहेको छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले उक्त स्थानमा के हुँदै छ भनेर आम नागरिकलाई जानकारी दिनका लागि सूचना पार्टी पनि नराखिनु र दुर्घटना निम्त्याउने गरी खाडल खनेर छाड्नु दुःखद पक्ष भएको टिप्पणी गर्नुभयो । समयमै काम नगर्नु र सरोकारवालाहरुको उदासिनताले थप दुर्घटना निम्त्याउन सक्ने भएकाले समयमै व्यवस्थापन गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रेसुङ्गा नगरपालिकाका योजना अधिकृत विनोद मरासिनीका अनुसार यस चौरको एक भागमा पानी उम्रिने भएकाले यसलाई अन्डरग्राउण्ड गरि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको बताउनुभयो । जमिनमुनीबाट पाइप लगाएर व्यवस्थापन गर्ने र बाहिरबाट मलिलो माटो ल्याई दुवो लगाउने कार्य हुने भएकाले नगरपालिकाको समन्वय मात्रै रहने उहाँको भनाइ छ । सबै कार्य सामाजिक विकास डिभिजन कार्यालय पाल्पाबाट हुने भएकाले आफूहरुले सहजिकरण मात्रै गर्दै आएको उहाँले बताउनुभयो ।

यता सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका इन्जिनियर विकास कुँवरका अनुसार बहुवर्षे ठेक्काअन्तर्गत एक करोडको लगानीमा रामेछाप कन्ट्रक्सन काठमाडौँले काम गरिरहेको बताउनुभयो । अहिले उक्त स्थानमा पोखरी जस्तै भएको आफूले जानकारी पाएको बताउँदै तत्काल पाइपहरु ल्याएर व्यवस्थापन गर्नका लागि निर्माण व्यवसायीलाई अनुरोध गरेको उहाँले बताउनुभयो । एक दुई दिन भित्रैमा निर्माण व्यवसायीले पाइपहरु ल्याएर अन्डर ग्राउण्ड गर्ने बताएकाले केही स्वरुप परिवर्तन हुने उहाँले बताउनुभयो । यस आर्थिक वर्षका लागि ५० लाख रपियाँको मात्रै कार्य हुने आगामी आर्थिक वर्षका लागि ५० लाखको काम हुने गरी निर्माण व्यवसायीले काम गर्ने उहाँको भनाइ छ ।