• १३ मंसिर २०८१, बिहिबार

टेलिकमको सेवा सुधार गर्न समन्वय आवश्यक : मन्त्री शर्मा

blog

अन्तरक्रिया कार्यक्रममा सहभागी मन्त्री शर्मासहित अन्य अतिथिहरु । तस्बिरः रेखीराम राना

रेखीराम राना

तानसेन, चैत २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले आफ्नो सेवा सुधार गर्न सबै पक्षसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । 

नेपाल टेलिकमले शुक्रबार तानसेनमा गरेको सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री शर्माले सरकारी निकाय र जनप्रतिनिधिसँगको समन्वयले मात्र टेलिकमको सेवा विस्तार तथा सुधारले सार्थकता पाउने बताउनुभयो ।  

मन्त्री शर्माले नेपाल टेलिकमको सेवालाई आम जनतामाझ पुगाउने र आफ्नो सेवा सुधार गर्ने कार्यक्रम भए पनि समन्वयको अभाव रहेको बताउनुभयो । कतिपय सरकारी निकायकै बिचमा राम्रोसँग समन्वय नहुँदा समयमै काम नहुने, सेवा अबरुद्ध हुने समस्या देखिएको उहाँको भनाइ छ । 

मन्त्री शर्माले आफू मन्त्री भएपछि पहिलो पटक हाइवे कनेक्टिभिटीको काम अगाडि बढाउने निर्णय गरेअनुसार काम अघि बढेको जानकारी दिनुभयो । उहाँले सुगम र दुर्गम स्थानमा मोबाइल फोन नटिप्ने समस्या भएको गुनासोलाई तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।  

नेपाल टेलिकमका निर्देशक संगीता पहाडी अर्यालले समयसापेक्ष टेलिकमले आफ्नो सेवा बिस्तार र सुधार गर्दै लगेको जानकारी दिनुभयो । उहाँले अहिले पनि विविध कारणले जनताले चाहेअनुसारको काम हुन नसकेको बताउँदै सेवा सुधारका लागि बजेट र कार्यक्रमको व्यवस्थापन भइरहेको बताउनुभयो । उहाँले विगतको तुलनामा टेलिकमले धेरै सेवा सर्वसुलभ बनाएको र आगामी दिनमा थप प्रभावकारी बनाउँदै लग्ने बताउनुभयो ।  

प्रतिनिधिसभाका सदस्य ठाकुर गैरेले अहिले पनि नागरिक टुजीको सेवा लिनका लागि गुनासो गर्नुपर्ने अवस्था आउनु दुखद् रहेको बताउनुभयो । उहाँले नेपाल टेलिकम राष्ट्रकै राम्रो संस्था भएकाले यसले आफ्नो सेवा सुधार गर्नुको विकल्प नभएको बताउनुभयो । 

प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले विद्यालयमा प्रविधि प्रशिक्षण तथा कम्प्युटर सम्बन्धी शिक्षणको नेतृत्व टेलिकमले गर्नुपर्ने बताउनुभयो । सरकारी निकायले दिने सबै खालको अनलाइन सेवा इन्टरनेटका कारण अबरुद्ध बनेकाले सेवा सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।