मीना कँडेल
कावासोती, चैत २२ गते । पूर्वी नवलपरासीमा व्यावसायिक स्ट्रबेरी खेती फस्टाउँदै जान थालेको छ । तराईमा स्ट्रबेरी खेती हुन्छ, यसबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्दा, सुन्दा अचम्म लाग्न सक्छ तर जिल्लाको कावासोती नगरपालिका–७ मा यो खेती फस्टाएको छ । तीन वर्षअघिबाट यहाँ मिश्रा पराजुलीले व्यावसायिक स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ ।
नवलपुर क्षेत्रमै पहिलो पटक व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गर्नुभएका पराजुलीले पहिलो वर्षभन्दा दोस्रो वर्ष राम्रो आम्दानी गर्न सफल भएको बताउनुहुन्छ ।
स्ट्रबेरी खेतीमा सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ । हालसम्म तीन क्विन्टल बढी उत्पादित स्ट्रबेरी स्थानीय बजारमा बिक्री भएको छ । प्रतिकिलो छ सय रुपियाँका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्री भएको यसबाट दुई लाख आम्दानी भइसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि काम अगाडि बढाइएको पराजुलीको भनाइ छ ।
“कृषिविज्ञको सल्लाह लिएर प्लास्टिक टनेलमा चितवनबाट गत वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ,” उहाँले भन्नुभयो, “यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ । अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौँ । एउटै बोटमा एक केजीसम्म फल्ने गरेको छ । स्थानीय बजारसँगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ ।”
नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएपछि प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाई बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ ।
स्ट्रबेरीलाई भुइँकाफल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ । चार महिनाअघि प्लास्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन सुरु गरेको छ ।