• १२ साउन २०८१, शनिबार

चुम्लुङको मौलिक सांस्कृतिक महोत्सव हुँदै

blog

चुम्लुङ पाँचथरको नवौँ अधिवेशनको तयारी सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम चैत २१ गते । किराँत याक्थुङ चुम्लुङ पाँचथरको नवौँ जिल्ला अधिवेशन तथा मौलिक सांस्कृतिक महोत्सव चैत २३ र २४ गते सदरमुकाम फिदिममा हुने भएको छ। 

चुम्लुङले फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

पाँचथर सदरमुकाम फिदिमस्थित जिल्ला समन्वय समितिको खुला मञ्चमा उद्घाटन हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै शनिबार अधिवेशन सम्पन्न हुने चुम्लुङ पाँचथरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रकुमार केरुङले जानकारी दिनुभयो । 

अधिवेशनको अवसर पारेर बृहत् मौलिक सांस्कृतिक महोत्सवसमेत आयोजना गरिने केरुङको भनाइ छ । महोत्सवमा लिम्बू जातीका सांस्कृतिक झाँकीसहित साङ्गीतिक र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चुम्लुङले जनाएको छ । 

अधिवेशनमा एक सय २१ प्रतिनिधि र ६१ जना पर्यवेक्षकले सहभागिता जनाउने आयोजकले जनाएको छ । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने केरुङको भनाइ छ ।