• १२ साउन २०८१, शनिबार

नयाँ शिक्षकको दरबन्दी निर्धारण

blog

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय ताप्लेजुङ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २१ गते ।
ताप्लेजुङका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ । स्थानीय तहको आवश्यकताअनुसार प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरुको दरबन्दी निर्धारण गरिएको हो ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भई आएका ७८ जना शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ । शिक्षकको आवश्यक भएअनुसार स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको एकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।

जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी फक्ताङ्लुङ गाउँपालिकामा २१ जना शिक्षकको दरबन्दी निर्धारण भएको छ । मैवाखोला गाउँपालिकामा १२ जना, सिरिजङ्घा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकामा समान आठ–आठ जना शिक्षकको दरबन्दी निर्धारण गरिएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा छ–छ जना र सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एकजनाको मात्र दरबन्दी निर्धारण भएको एकाइ प्रमुख भट्टराईले बताउनुभयो । उहाँकाअनुसार स्थानीय तहलाई दरबन्दी सङ्ख्या निर्धारण भएपछि आफूले चाहेको पालिकामा जानका लागि सिफारिस भएर आएका शिक्षकले आउँदो आइतबारसम्ममा एकाइ कार्यालयमा निवेदन दिनुपर्नेछ ।