• २२ वैशाख २०८१, शनिबार

‘खेलकुद सङ्घलाई कार्यक्रमको आधारमा बजेट’

blog

अन्तरक्रिया कार्यक्रममा बोल्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङ ।

काठमाडौँ, चैत २० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल सङ्घलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताउनुभएको छ ।  

काठमाडौँमा मङ्गलबार आयोजित ‘खेलकुदमा योजना र बजेट कस्तो ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आगामी बजेटमा खेल सङ्घको कार्यक्रम र पेश गरेको योजनाका आधारमा बजेटमै अनुदानको ब्यवस्था गरिने बताउनुभयो । उहाँले खेलकुदले पाएको बजेटलाई प्राथमिकताका आधारमा खर्च गरिने पनि बताउनुभयो । 

‘‘राखेपले दुई सय नौ मा रहेको खेल सङ्घको संख्यालाई ६१ मा झारेको छ । बजेट विनियोजनको हिसावले पनि पदक र राष्ट्रिय महत्वका खेललाई ध्यान दिईनेछ । खेलकुदमा बजेट प्रयाप्त नहुने र भएको बजेटलाई पनि खर्च गर्न नसकिने अवस्थालाई चिर्न आवश्यक छ,’’ उहाँले भन्नुभयो । 

नेपालको कूल बजेटमध्ये खेलकुदले ०.१२ प्रतिशत बजेट पाउने र त्यसमा पनि ठूलो हिस्सा कर्मचारीको तलव भत्तामा जाने गरेको यथार्थ छ । राखेपले कर्णाली प्रदशेमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदलाई मुख्य प्राथमिकतामा राखेको र यसको अपनत्व प्रदेश स्वयंलाई दिन लागेको पनि सदस्य सचिव घिसिङले बताउनुभयो ।

राखेपले राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदान, विराटनगर र भरतपुरको मैदानलाई छिटो सम्पन्न गरिसक्ने योजनाका साथ अगाडि बडेको जानकारी पनि सदस्य सचिव घिसिङले दिनुभयो । 

बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीको सुझाव लिँदै सदस्य सचिव घिसिङले राखेपले भौतिक पूर्वाधार निर्माण, पुर्ननिर्माण, राखेपको प्रशासनिक झमेला, खेलाडी पलायन, खेलाडी र प्रशिक्षकलाई प्रविधियुक्त प्रशिक्षण तथा तयारीको ब्यवस्था, राष्ट्रिय टोलीको चुस्त तयारी, खेल जीवनपछि खेलाडीले पाउने सुविधा, पुरस्कार जस्ता विषयमा बजेटमा ध्यान दिईने पनि प्रतिबद्धता जनाउनुभयो । राखेपले यसअघि बजेट सम्बन्धमा खेल सङ्घका पदाधिकारीसँग पनि छलफल गरेको थियो ।