रेखीराम राना
तानसेन, चैत २० गते । सेवा प्रवाहलाई सरल र सहज बनाउन ‘नागरिक सहायता कक्ष’ सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिकाले आफ्नो सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन ‘सहायता कक्ष’ सञ्चालनमा ल्याएको हो ।
नगरपालिकामा विभिन्न सेवा लिन आएका सेवाग्राहीलाई सरल ढङ्गबाट सेवा प्रवाह गर्न सहायता कक्ष सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सहायता कक्षमा एक जना कर्मचारीको व्यवस्था गरिएको छ । कर्मचारीले नागरिक आउने बित्तिकै के सेवा लिन आएको हो, सोधपुछ गरेर सहजीकरण गर्ने र आवश्यक सहयोग गर्नेछन् । यस्तै सहायता कक्षबाटै सेवाग्राहीले तीन कपी फोटोकपी सेवा निःशुल्क पाउने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । सहायता कक्ष नगरपालिकाको प्रवेशद्वारमै राखिएको छ ।
सेवाग्राहीले लिन चाहेको सेवा सहज र सरल रूपमा प्रदान गर्न सहायता कक्षले सहयोग पुर्याउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "नगरपालिकाले धेरै महत्त्वपूर्ण सेवा दिएको छ तर सेवा कहाँ, कसरी, कहिले लिने भन्ने जानकारी नहुँदा सेवाग्राहीले अनावश्यक झन्झट र दुःख झेल्नुपर्ने अवस्थाको अन्त्य गर्न सहायता कक्षबाट सहजीकरण गर्न थालेका हौँ ।" सहायता कक्षबाट प्रदान गरिने सेवा सानो भएपनि यसले सेवाग्राहीलाई खुसी बनाउने नगरपालिकाले जनाएको छ ।
तानसेन नगरपालिकामा दिनहुँ पाँच सय बढी सेवाग्राही आउने गरेका छन् । तीमध्ये कुन कागजपत्रको फोटोकपी गर्ने, कुन कागजपत्र आवश्यक पर्ने, कुन सेवा कुन कक्षमा लिने भन्ने जानकारी नभएका सेवाग्राही आउने गरेका छन् । सामान्य जानकारी समेत नहुँदा सेवाग्राही आफैँले सास्ती बेहोर्नु परेको छ भने कार्यकक्षमा काम गरिरहेका कर्मचारीलाई सेवाग्राहीलाई सहयोग गर्दा नियमित काममा अवरोध आउने गरेको छ । त्यस्ता समस्याको समाधान गर्न नागरिक सहायता कक्ष प्रभावकारी बन्ने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । सेवाप्रवाहलाई सरल र सहज बनाउनका लागि नागरिक सहायता कक्षले सहयोग पुर्याउने उहाँले विश्वास गर्नुभयो ।