तानसेन समाचारदाता
तानसेन, चैत २० गते । हावाहुरीका कारण पाल्पाको विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीसँगै असिनापानीले व्यक्तिका घर, गोठ, विद्यालय, कृषि बालीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरीका अनुसार हावाहुरीले १५ घरमा क्षति पुगेको छ । चार वटा गोठ, चार वटा सवारीसाधनमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले हावाहुरीका कारण रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
हावाहुरीसहितको वर्षाले एक विद्यालय र एक अस्पतालमा समेत क्षति पुर्याएको छ । उहाँले भन्नुभयो, “अरूतिर पनि हावाहुरीले क्षति पुर्याए पनि हालसम्म तथ्याङ्क आएको छैन ।” हावाहुरीले बगनासकाली–५ स्थित दर्लम माविको चारकोठे भवनको छानो उडाएको छ । तानसेनस्थित पाल्पा अस्पताल नजिकै रहेको अक्सिजन प्लान्ट र प्रतीक्षालयको छाना उडाएर क्षति पुर्याएको प्रहरीले जनाएको छ । हावाहुरीसँगै आएको असिनापानीले रैनादेवी छहरा, माथागढी, तिनाउ र रिब्दीकोटका किसानले लगाएको तरकारीमा क्षति पुर्याएको छ । फुल्न लागेका सुन्तला र अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्याएको पाल्पाका किसानले बताएका छन् ।
रिब्दीकोटमा मात्र अकबरे खुर्सानीका सात लाख बिरुवा असिनापानीले नष्ट गरेको गाउँपालिकाका कृषि प्राविधिक सञ्जीव कुँवरले बताउनुभयो । जिल्लाका अन्य स्थानमा पनि असिनापानीले कृषि बालीमा क्षति पुर्याएको छ । हावाहुरीका कारण किसानले तरकारी खेती गरिरहेका प्लास्टिकका टनेलमा क्षति पुर्याएको छ । एक्कासि हावाहुरी, पानी र असिना परेका कारण कृषि बाली जोगाउन नसकेको माथागढी–२, रुप्सेका किसान दामोदर घर्तीले बताउनुभयो ।
असिनापानीले काँक्रालगायतका लहरे बालीमा लगाएको झेक्रा, टनेल, मल्चिङ्मा क्षति पुर्याएको उहाँले बताउनुभयो । जिल्लाका स्थानीय पालिकाले कृषि बाली, बस्ती तथा अन्य क्षेत्रमा पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएका छन् । यस्तै जिल्लाको विभिन्न स्थानमा हावाहुरीका कारण विद्युत् अवरोध बनेको छ । विद्युत्का पोल तथा तारमा भएको क्षतिले विद्युत् प्रवाहमा अवरोध भएको वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताउनुभयो ।