• १२ मंसिर २०८१, बुधबार

लगानी दस लाख, असुली त्रिचालिस लाख

blog

बोमलाल गिरी

नवलपुर, चैत २० गते । नवलपुर प्रहरीले जिल्लामा मिटरब्याजको समस्या निकै जटिल र चुनौतीपूर्ण देखिएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले गोरखापत्रसँग कुरा गर्दै मिटरब्याजी र अनुचित लेनदेनको कारोबारीको जालो फैलिएको भन्दै समस्या समाधानमा प्रहरी निर्मम भएर लागेको बताउनुभयो । 

उहाँका अनुसार एउटै व्यक्तिले १० लाख लगानी गरेर ४३ लाख रुपियाँ असुल गरी थप ३० लाखको तमसुक गरेको समेत भेटिएको छ । छलफलकै क्रममा रहेको भन्दै ती मिटरब्याजीको नाम प्रहरीले सार्वजनिक गरेको छैन । 

यसरी कारोबार गर्दा पीडकले पैसा दिँदा बैङ्कमार्फत दिने र लिने बेलामा बैङ्किङ कारोबारलाई निषेध गरी नगद कारोबार गर्ने गरेर प्रमाणमा आफूलाई बलियो बनाउने काम गरेको देखिएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यसले गर्दा समस्या समाधानमा थप चुनौती थपिएको उहाँको भनाइ छ । 

प्रहरीले पीडक र पीडितलाई सँगै राखेर मिलाउने काम गरेर मुद्दा मिल्ने अवस्थामा पुगेपछि पीडकहरू अनुसन्धानलाई अन्यत्रै मोड्न अदालत जाने गरेको प्रहरीले जनाएको छ । केही भने जिप्रकामा मिलापत्र गरेर गएपछि पनि अदालत गएर सहमतिलाई उल्टाउने काम गरिरहेका प्रहरीको भनाइ छ । मिटरब्याज तथा अनुचित लेनदेनविरुद्धको किसान मजदुर सङ्घर्ष समितिका अनुसार नौ जना पीडकले अदालतमा मुद्दा हालेका छन् । 

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले पनि जिल्लामा अनुचित लेनदेनको समस्या जटिल देखिएको भन्दै दुवै पक्षलाई बोलाई छलफल गराउन प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । नवलपुर प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी ३१ वटा निवेदन परेकोमा आठ वटामा मिलापत्र गराएको छ भने २३ वटा बाँकी छन् । जसमध्ये तीन जना अदालत गएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालयमा अनुचित लेनदेनसम्बन्धी १२ वटा निवेदन परेकोमा आठ वटा मिलापत्र गराएको प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

कतिपयले आन्तरिक रूपमै मिलापत्र गराएको उहाँको भनाइ छ । यस्तै मिटरब्याजविरुद्धको सङ्घर्ष समितिमा ४२ वटा उजुरी परेकोमा १७ वटामा मिलापत्र भएको र आठ वटा निवेदनमाथि छलफल चलिरहेको सङ्घर्ष समितिकी उपाध्यक्ष शारदा पौडेलले जानकारी दिनुभयो । 

पीडकले पीडितसँग जबरजस्ती कागज गराउने र वडामा लगेर प्रमाणित गर्ने गरे पनि पीडित भने वडासम्म पनि नपुगेका उदाहरण भेटिएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालयमा दिनहुँजसो विभिन्न समूहमा छलफल चलिरहेको छ । गोरखापत्रले गत पुष १४ गते मिटरब्याजसम्बन्धी समाचार प्रकाशन गरेपछि जिल्लामा पहिलो पटक मिटरब्याजको विषय चर्चामा आएको हो । त्यसपछि पीडितहरू सङ्गठित भएर आन्दोलन गरिरहेका छन् ।