• १२ साउन २०८१, शनिबार

एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बन्दै

blog

सहकारीमन्त्री बलराम अधिकारीलगायत ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत १९ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताउनुभएको छ । सोमबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले २०७७ सालमा नै एउटै व्यक्ति एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा बस्न नपाउने भनिएको भए पनि अहिले चारवटा भन्दा बढीमा रहेको भन्दै यसलाई नियन्त्रण गर्ने नीति ल्याइने बताउनुभयो । मन्त्री अधिकारीले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकाले मात्रै नभई सहकारी अभियन्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘२०७७ सालसम्म एउटै व्यक्ति एउटै उद्देश्य भएका सहकारीमा बस्न नपाउने भनिएको थियो । अहिले पनि तीन चारवटा सहकारीमा हुनुहुन्छ । यसलाई पनि नियन्त्रण र कारबाही गर्नेगरी कहीको पनि सदस्यता हुन नपाउने गरी जानुपर्छ । यो बारेमा पनि सरकारले नीति बनाएर अगाडि बढाउँछ । गलतलाई गलत सहीलाई सही भन्ने प्रवृत्ति सरकाले मात्रै भन्ने होइन । सहकारी अभियन्ताले पनि भन्नुपर्छ ।’’

मन्त्री अधिकारीले सहकारी भित्र देखिएका अहिलेका समस्या समाधान गर्नका लागि अहिलेसम्म भएका त्रुटिबारे खोजी गर्न जरुरी रहेको जानकारी दिनुभयो । उहाँले सहकारीसँग सरकार, सहकारी र सर्वसाधारण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताउनुभयो । उहाँले सहकारीहरू ऐन, नियम पूरा गरेर दर्ता गर्ने तर सहकारीको उद्देश्य अनुसार काम नगर्दा सहकारीमा समस्या आएको बताउनुभयो ।

उहाँले सहकारीहरूले सबैभन्दा पहिला सहकारीको उद्देश्य पूरा गर्न लाग्नुको विकल्प नभएको औँल्याउनुभयो । उहाँले राष्ट्रिय सहकारी अन्तर्गत भएका सबै निकायहरूमा कमजोरी गर्नेलाई कारबाही गर्ने बताउनु भयो ।

‘‘सहकारी भित्र देखिएका अहिलेका समस्याहरू समाधान गर्नका लागि कहाँ–कहाँबाट त्रुटि भयो सबैले खोज्न जरुरी छ । सहकारी भनेको सामूहिक भावनाबाट अघि बढ्ने हो भने सरकार, सहकारी र सर्वसाधारण जोडिएका छन् । त्यस कारण यो सरकारको मात्रै हो भनेर हेर्ने दृष्टिकोण बनाउनु हुँदैन । हाम्रो पनि दायित्व हो । हामीले पनि पहल गर्नुपर्छ भनेर लाग्यौँ भने मात्रै समाधान हुन्छ । सहकारीहरू ऐन नियम पूरा गरेर दर्ता गर्ने गरेका हुन्छन् तर काम गर्ने बेलामा विपरीत गरिदिन्छन् ।,’’ मन्त्री अधिकारीले भन्नुभयो, ‘‘अहिले सहकारीमा भएको पनि त्यही हो । सहकारीको उद्देश्य एउटा काम अर्को भएकाले सहकारीमा वर्तमान समस्या आएको हो । सहकारीहरूले सबैभन्दा पहिला सहकारीको उद्देश्य पूरा गरौँ । राष्ट्रिय सहकारीअन्तर्गत भएका सबै निकायहरूमा कमजोरी गर्नेलाई कारबाही गर्ने आँट गर्नुपर्‍यो ।’’

उहाँले कमजोरी गर्नेलाई सरकारले कारबाही गरेरै छोड्ने बताउनुभयो । उहाँले सहकारी स्थानीय तहमा दर्ता गर्ने प्रावधानसँगै खारेज गर्ने अधिकार पनि दिन आवश्यक रहेको बताउनुभयो ।