• १२ साउन २०८१, शनिबार

'सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ'

blog

गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम ।

धर्बेन्द्र झा 

धनुषा, चैत १९ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले देशमा भएको विभिन्न खालको आन्दोलनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाहरूलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पत्रकारहरूको सहज पहुँच र मन्त्रालयलाई मिडियामैत्री बनाउने कामको आजैबाट सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि मन्त्रालयमा सूचना डेष्कको स्थापना गर्ने उहाँको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, "राज्यको कुनैपनि निकायमा मिडियाको सहज पहुँच हुनुपर्छ । मधेश प्रदेशमा यदि त्यसो भएको छैन भने आजैको दिनबाट त्यसको सुरुवात हुन्छ ।" उहाँले प्रदेशमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नहुने गरेको गुनासो सञ्चारकर्मीहरूबाट आएकोमा यस विषयमा मुख्य मन्त्रीलाई आफूले ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले सञ्चारकर्मीको भूमिका के हुनुपर्छ भने विषयमा मन्त्रालयले विभिन्न खालका तालिम गोष्ठीहरू राखेर पत्रकारिता पेसालाई मर्यादित बनाउने काममा मन्त्रालयले कामकाज गर्ने जानकारी दिनुभयो । मन्त्री लेखीले मधेश प्रदेशका पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि आवश्यक बिमा र पत्रपत्रिकाको लोक कल्याणकारी विज्ञापनको विषयमा आमसञ्चार प्राधिकरणका पदअधिकारीहरुसँग छलफल गरी आवश्यक रणनीति तय गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री लेखीले मानव सूचकाङ्कको आधारमा मधेश प्रदेश धेरै पछाडि परेको भन्दै यसलाई सुधारका लागि प्रदेश सरकार, सबै राजनीतिक दल, नागरिक समाज र पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने भएकोले आ आफ्नो ठाउँबाट प्रदेशको समृद्धि र विकासका लागि हामी सबैले भूमिका खेल्नु पर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण सहितका दुई दर्जन पत्रकारहरूले सञ्चार क्षेत्रमा देखिएका समस्या र तिनका समाधानका लागि मन्त्रालयले गर्नु पर्ने कामको विषयमा मन्त्री लेखीलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र यादव, सह सचिव उत्तम प्रसाद खरेल, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास सहितको उपस्थिति थियो ।