• २१ वैशाख २०८१, शुक्रबार

किसुनजी स्मृति हाफ म्याराथनमा विजय र पुष्पा च्याम्पियन

blog

हाफ म्याराथनका विजेता विजय रावत र पुष्पा भण्डारी । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत १७ गते । विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार च्याम्पियन बन्नुभएको छ । विजय पुरुष तथा पुष्पा महिलामा उपाधि जित्नुभएको हो ।

विजयले निर्धारित दूरी एक घण्टा सात मिनेट ५६ सेकेन्डमा पूरा गर्नुभयो । १३औँ सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी एक घण्टा आठ मिनेट २५ सेकेन्ड समयमा दौड सक्दै दोस्रो तथा हङकङमा भएको तेस्रो एसियाली यूथ (यु–२०) एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव एक घण्टा ११ मिनेट ३३ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो । 

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा महिलातर्फ पुष्पाले निर्धारित दूरी एक घण्टा २३ मिनेट पाँच सेकेन्डमा तय गर्नुभयो । राममाया बुढाले एक घण्टा ३३ मिनेट १२ सेकेन्डमा दौड सक्दै दोस्रो र एक घण्टा ३५ मिनेट ४४ सेकेन्डमा दौड सक्दै शुशान कार्की तेस्रो हुनुभयो । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

पुरुष पाँच किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्ड समयसाथ पहिलो हुनुभयो । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोस्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेस्रो हुनुभयो । सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाउँदै शर्मिला बस्नेत पहिलो हुनुभयो । २६ मिनेट ०९.३४ सेकेन्डमा सुस्मु डोल्मु तामाङ दोस्रो तथा ३२ मिनेट ३४.३६ सेकेन्डमा दिविका गुरुङ तेस्रो हुनुभयो । 

दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । विजेतालाई पूर्व मन्त्री धनराज गुरुङ, पूर्व प्रदेश संसद् राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनितहरुलाई पत्र पनि हस्तान्तरण गरिएको थियो ।