• ११ मंसिर २०८१, मङ्गलबार

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा २० लाख पुरस्कार

blog

अन्तर्राष्ट्रिय पिस म्याराथन बारे जानकारी दिँदै आयोजक । तस्बिर : सौजन्य राखेप

काठमाडौँ, चैत १७ गते । लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा चैत २४ गते दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ । फेस्टिबल चैत २३ र २४ गते हुनेछ । फेस्टिलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ ।

 पिस म्याराथनको कुल पुरस्कार राशि २० लाख रुपियाँ रहेको छ । दौडमा पुरुष म्याराथनसँगै महिला हाफ म्याराथन, पाँच किलोमिटर खुला दौड पुरुष र महिला तथा पाँच किलोमिटर स्कुल ब्वाइज र गल्र्सको पनि प्रतिस्पर्धा हुनेछ । म्याराथनतर्फ शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । पुरुष म्याराथनमा पहिलो हुनेले पाँच लाख, दोस्रो हुनेले तीन लाख र तेस्रो हुनेले दुई लाख रुपियाँ प्राप्त गर्नेछन् । 

यस्तै चौथोले एक लाख, पाँचौँले ८० हजार र छैटौँले ६० हजार रुपियाँ हात पार्नेछ । सातौँदेखि १०औँ स्थानमा रहनेले क्रमशः ४० हजार, २० हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार पाउने छन् ।

महिला हाफ म्याराथनतर्फ पहिलोले दुई लाख, दोस्रोले एक लाख ६० हजार र तेस्रोले एक लाख २० हजार रुपियाँ जित्नेछन् । पाँच किलोमिटर खुला दौडतर्फ शीर्ष तीनमा रहनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ प्रदान गरिनेछ ।

यस्तै पाँच किलोमिटर स्कुल ब्वाइज र गल्र्समा पनि शीर्ष तीन स्थानमा आउनेलाई १५ हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार व्यवस्था गरिएको छ । फेस्टिभल नेपाल पर्यटन बोर्ड, नेपालस्थिति चिनिया दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा हुन लागेको हो ।