• १० मंसिर २०८१, सोमबार

नेपाल–अङ्ग्रेज युद्धको बखान

blog

युद्ध चलिरहेको समयमा केही नियम हुन्छन् वा बनाइन्छन् । युद्ध कुन विषयबाट र कसरी सुरु हुन्छ भन्ने विषयको अनुमान पहिल्यै नभए जस्तै अन्तिम समयसम्ममा कति क्षति हुन्छ भन्ने यकिन गर्न गाह्रो हुन्छ । 

अक्टरलोनीले हेटौँडामा चन्द्रशेखरलाई भने जस्तै आज के कुरा मान्न सकिन्छ, भोलिको दिनमा त्यो मान्न नसक्ने अवस्था आउन सक्छ । युद्धको समयमा हरेक समय र रणनीति महìवपूर्ण हुन्छ र जित्नकै लागि लडाइँ लडिन्छ । खोजपत्रकार मोहन मैनालीको लेखनमा प्रकाशित पुस्तक ‘मुकाम रणमैदान’ मा नेपाल अङ्ग्रेज युद्धकै बखान गरिएको छ । 

यस पुस्तकमा नालापानीबाट १८७१ साल कात्तिक १० गते सुरु भएको लडाइँ १८७२ साल फागुन २५ गते मकवानपुरमा समाप्त भएको सैन्य घटनाबारे विस्तृत पढ्न पाइन्छ । पुराना पत्राचारको भाषासँगै अहिले प्रयोग भइरहेको सरल भाषामा घटनाक्रम प्रस्तुत गरिएको छ । 

काठमाडौँसम्म अङ्ग्रेज सेना पुग्ने अवस्थापछि नेपाली पक्षबाट सदर भएको सुगौली सन्धिले वर्तमान नेपालभन्दा सानो भूभागमै चित्त बुझाउनु परेको थियो । लडाइँ समाप्त भएको एक वर्षपछि कोशीदेखि राप्तीसम्मको मैदान र त्यसको ४० वर्षपछि भएको लखनऊ विद्रोह दबाउन सहयोग गर्दा अङ्ग्रेजबाट पाएको नयाँ मुलुकले वर्तमान भौगोलिक अवस्था निर्धारण गर्न सफल भएको हो ।

यस पुस्तकमा युद्धस्थलमा खटिएका र खटाइएका बिच आदान प्रदान भएका पत्रहरूलाई मुख्य स्रोत मानिएको छ । जेम्स बेइली फ्रेजरले ‘द खुकुरी ब्रेभ्स’ पुस्तकमा कीर्ति रानाको घटना थोरै फरक रहेको तथ्य जाँच सार्वजनिकसमेत गरिएको छ । त्यहीँ बलभद्र कुँवरको सम्बन्धमा नालापानीको युद्धपछि लोहोरस्थित रणजित सिंहको सेनाको भर्ती भएको भाष्यलाई रूपान्तरण गर्न बिचको अवधिमा भए गरेका गतिविधिबारे विस्तृत चर्चा गरिएको छ ।

तत्कालीन समयमा युद्ध क्षेत्रका राजा, रैती, जमिनदार, सेनालगायतले जो बलिया उसैको पक्षमा जाने घटनाक्रमलाई मिहीन ढङ्गले प्रस्तुत गरिएको छ । सुगौली सन्धिभन्दा अगाडि १८७२ साल वैशाख १७ गते कुमाऊँ र जेठ ४ गते महाकालीपारिबाट फिर्ती जाने सन्धिले गोर्खाली अधीनस्त भूभाग र आम्दानी गुमिसकेको थियो । महाकालीपारिका सबै जमिन गुम्दा १६ लाख ६५ हजार आम्दानी गुमेको थियो । 

भूभाग र आम्दानी गुमाउने कमान्डरसँग राज्यले गर्ने नराम्रो व्यवहारबारे पुस्तकमा प्रस्ट पारिएको छ । राज्य विस्तार गर्दा वाहवाही पाउने कमान्डरहरू भोको पेट र हतियारको अभावमा गर्नु परेको सङ्घर्षबारे कुनै वास्ता गरिएको थिएन । युद्धको समय सेनाका परिवार र बालबालिकाले भोग्नु परेका दुःख र लासबारेको वर्णनले पुस्तकलाई जीवन्त बनाएको छ ।

हुन त यस युद्धमा दुवै पक्षले एकअर्काको क्षेत्रमा बसोबास गरेका नागरिकको धन सम्पत्ति र चौपाया लुट्ने गरेका थिए । त्यतिले चित्त नबुझ्दा झोपडी र घरमा आगजनी गर्थे । फौजमा दुवै पक्षले लुटहा लिएरै जान्थे । ज्यान जोगाउन यी नागरिकहरू घुमन्ते भएका थिए । अर्कोतर्फ भोक र अभाव बढेपछि भाँडाका सिपाही बन्थे । त्यसैले पनि लुटहालाई लुटले धानेको बुट भन्ने गरिन्थ्यो ।

सैनिक र त्यसका परिवारको सङ्घर्षबारे चित्रण भए पनि युद्ध क्षेत्रका नागरिकले भोग्नु परेको पीडाभन्दा कुन राजा, जमिनदारले दलबदल गरे भन्ने विषय पत्रचार भएको देखिन्छ । युद्ध क्षेत्रबाट हुने पत्राचारबाट गोर्खाली सेनाभित्र शाह, थापा, कुँवरलगायतका बिच चलेको मतभेद र यसको परिणाम पुस्तकमा पढ्न सकिन्छ ।

तत्कालीन समयमा गोर्खा राज्यभित्र जातिको आधारमा दण्ड सजायको व्यवस्था, लडाइँमा साइत हेरेर आक्रमण गर्ने, परम्परागत चिकित्साको अभ्यास थियो । त्यही अङ्ग्रेज सेनामा आधुनिक चिकित्सा, अङ्ग्रेज, मुस्लिम र हिन्दु सैनिकका लागि छुट्टाछुट्टै भाँडामा पानी खाने व्यवस्था थियो । लड्दा लड्दै घाइते भएकालाई आफ्नो क्याम्पमा लगेर उपचार गरेका कारण पनि केहीले दलबदल गरेको उदाहरण पुस्तकमा पढ्न पाइन्छ ।

अङ्ग्रेज सैनिक चतुर्मासमा पहाडमा युद्ध गर्न अत्यन्त कठिन हुने कुरा थाहा पाएका थिए । त्यही यो समयलाई नेपाली पक्षले युद्ध तयारीको रूपमा लिने गरेका थिए । चतुर्मास भनेर असारदेखि कात्तिकसम्मको बर्षात मौसमलाई बुझिन्छ । असारको देवशयनी एकादशीदेखि कात्तिकको प्रबोधिनी एकादशीसम्मको चार महिनाभित्र कुनै शुभ काम गर्न नहुने मान्यता भएकाले यस समयमा लडाइँ गर्न हिच्किन्थे । 

लडाइँमा दुवै पक्षले सैनिक सङ्ख्या र बलको बारेमा प्रोपागान्डाको भरपुर फाइदा उठाएको देखिन्छ । चीनलाई लोभ्याउन होस् अथवा अङ्ग्रेजलाई धम्क्याउन यसको प्रयोग भएको देखिन्छ । त्यस्तै अङ्ग्रेज पक्षले समेत प्रोपोगान्डाको फाइदा लिएको देखिन्छ । 

लडाइँमा दुवै पक्षमा साङ्गीतिक टोली पक्कै पनि सञ्चार र मनोरञ्जनका लागि रहेको हुनु पर्छ । नर्सिङ्गावाला, दमाहावाला, बाँसुरीवालाहरू समेतको भूमिका लडाइँमा हुने गर्छ । नेपालीको अधीनस्त रहेको हरेक गढीको रक्षा गर्ने कमान्डर र सैनिकको आफ्नै कथा व्यथा छ । यी गढीहरू नेपाल–अङ्ग्रेज यद्धका साक्षी छन् । लडाइँ भएको ठाउँलाई पहिचान गर्न नदीको क्षेत्र किल्ला र गढी महत्वपूर्ण छन् । लडाइँको क्षेत्र हेर्दा मेची नदी पारि, मेचीदेखि कोशी नदी, कोशीदेखि नारायणी नदी, नारायणीदेखि राप्ती नदी, राप्तीदेखि काली र महाकाली पारि थिए । दुवै पक्षको आँखा महाकाली पारि र कोशीदेखि नारायणीनदीबिचको क्षेत्रमा अधिक थियो । 

अङ्ग्रेजको फारसी प्रेमको उत्तर पाउन थप अध्ययन गर्नुपर्ने देखिन्छ । बूढाकाजी अमरसिंह थापासँग मेजर जनरल अक्टरलोनीले किन फारसी भाषामा पत्र तयार सन्धि गर्न खोजेका थिए । हुन त पछि सन्धिपत्र हिन्दी भाषामा पनि अनुवाद गरेको पाइन्छ । लडाइँअगावै लगाइएको र गरिएको व्यवहार युद्ध मैदानमा बदलिन्छ । पृथ्वीनारायण शाहले भक्तपुरका अन्तिम राजा मितबाबु रणजीत मल्ललाई पराजित गरे जस्तै थापाका छोराको मितबाबु अक्टरलोनीले हराएको उदाहरण पुस्तकमा रोचक तरिकाले वर्णन गरिएको छ ।

पुस्तकमा लडाइँ भएका हरेक क्षेत्र वा गढीको वर्तमान भौगोलिक अवस्था ठम्याउन गाह्रो छ । हुन त यस विषयमा कहीँ कहीँ प्रस्ट पारिए पनि त्यो पर्याप्त छैन । अर्को संस्करणमा प्रदेश एवं जिल्लागत रूप लडाइँ भएका गढी वा क्षेत्रलाई समेट्दा उत्तम हुने छ । नेपाल र अङ्ग्रेजतर्फका के कति मानवीय क्षति वा घाइते भएको सङ्ख्या यकिन गर्न गाह्रो छ । हुन त चीनको बादशाहलाई नेपालतर्फबाट पत्र पठाउँदा २० हजार अङ्ग्रेज सैनिकको ज्यान गएको उल्लेख छ । त्यस्तै अङ्ग्रेजले यस लडाइँमा दुई चरण गरेर ५० लाखभन्दा बढी सुनको रुपियाँ खर्च भएको उल्लेख छ । 

मेरो विचारमा तत्कालीन सुनको रुपियाँलाई असर्फी भन्ने चलन थियो । पत्रहरूमा नै यकिनका साथ नलेखिएको पनि लेखकले एकमुष्ठ कतै अनुमानित सङ्ख्या राख्दा राम्रो हुन्थ्यो । नेपालले लडाइँमा कति खर्च गरेको थियो भनेर थप खोज्नुपर्ने अवस्था छ । तत्कालीन समयमा कमान्डरहरू पाउने खान्गी र खेतको उब्जनीबाट सेना पाल्नुपर्ने बाध्यता थियो । अर्कोतर्फ युद्धको समाप्तीपछि आफ्नो कमान्डको क्षेत्रबाट बाहिरिएपछि सम्पूर्ण आम्दानी बुझाउनुपर्ने आदेशले तत्कालीन राज्य व्यवस्थाको व्यवहार प्रस्ट हुन्छ । यद्यपि कुन पक्षमा कुन क्षेत्रका राजा, जमिनदार, वजीर, साहु, महाजनले लडाइँमा कति पैसा खर्च गरे त्यो खोज्नुपर्ने कामले निरन्तरता पाउनु पर्छ । शङ्काबाट उत्पन्न भएको लडाइँ समाप्त भए पनि शङ्का रहिरहन्छ भन्ने कुरा सत्य पो कि जस्तो लाग्छ । यो शङ्का अहिले पनि नेपालीको मनबाट छिमेकीप्रतिको शङ्का हट्न सकेको छैन ।

पुस्तकको अध्ययनपछि मैदान अथवा तराईमा रहेका लडाइँ क्षेत्रहरूका नागरिकले ज्यान जोगाउन रातभर जमिनमुनि खाल्डो खनेर बस्ने गरेको मौखिक इतिहासलाई जीवन्त बनाउन मौखिक इतिहासको अभिलेखीकरण आवश्यक छ । मुकाम रणमैदान पुस्तक पढेपछि नयाँ नयाँ जानकारी पाउन सकिने कुरामा दुईमत छैन । यो हरेक प्रदेशका बासिन्दाले गहिरिएर पढेपछि आफ्ना क्षेत्रभित्रका युद्ध साक्षी गढी र किल्लाबारे थप जानकारी समेट्न सक्छन् ।   

Author

राकेशप्रसाद चौधरी