• १५ वैशाख २०८१, शनिबार

मूलधारका मिडियालाई बचाउन सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

blog

नेपाल पत्रकार महासंघ कास्कीको ५९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे।

रमेश पौडेल

पोखरा, चैत १६ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मूलधारका मिडियालाई बचाइ राख्न सामाजिक सञ्जाल चुनौती भएकाले यसलार्ई सबै पक्ष मिलेर व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ।

नेपाल पत्रकार महासङ्घको ५९ औँ स्थापना दिवसको उपलक्ष्यमा कास्की शाखाद्वारा पोखरामा शुक्रबार आयोजित पोखरा पत्रकारिता सम्मान एवं पत्रकारितामा देखिएका सङ्कट र समाधानका उपाय विषयक संवाद कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पाण्डेले सो भनाइ राख्नुभएको हो।

मुख्यमन्त्री पाण्डेले मुलधारका मिडिया र सामाजिक सञ्जाल बिचको भिन्नतालाई आमजनतालाई बुझाउन सकिएन भने पत्रकार र पत्रकारिता मात्र होइन्, राज्य, सरकार र संविधानलाई समेत चुनौती हुने कुरामा जोड दिनुभयो। उहाँले पत्रकारितालाई बचाउन सकिए मात्र लोकतन्त्र सुदृढ हुने बताउनुभयो। उहाँले स्वतन्त्रको नाममा छाडा प्रविधि बढ्दै गएकाले यसलाई न्यूनीकरण गर्न दल, सरकार र मिडिया आबद्ध सङ्घसंस्थाहरु एक ठाउँमा उभिएर समाधान खोज्नुपर्ने बेला आएको बताउनुभयो। स्वतन्त्र मिडियाको शक्ति २०३६ देखि ०४६ हुँदै राजा ज्ञानेन्द्रको शाहीकालमा स्वतन्त्र मिडियामाथि लगाइएको अङ्कुश र अवस्थालाई पनि उहाँले स्मरण गर्नुभएको थियो।

गण्डकी प्रदेशले हालै मात्र पास गरेको मिडिया विद्येयकमा स्वतन्त्र मिडियाको परिकल्पना गरी प्रेस रजिष्टारको व्यवस्था गरेकोले अबका दिनबाट मिडिया मोनिटरीङ् स्वतन्त्र रुपमा हुने समेत जानकारी दिनुभयो। मुख्यमन्त्री पाण्डेले पत्रकारिता पेशालाई जिम्मेवार, मर्यादित र सम्मानित गराउन पत्रकारसमेतको मुख्य दायित्व रहने भनाइ राख्नुभएको थियो।

कार्यक्रममा पोखराका पत्रकारद्वारा स्थापित पोखरा पत्रकारिता पुरस्कार २०७९ बाट व्यक्तिगततर्फ अग्रज पत्रकार गङ्गाधर पराजुली र २०८० को सस्थागततर्फ राजु भण्डारी एवं भण्डारी परिवारलाई सो अवसरमा सम्मान गरिएको थियो। अग्रज पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा गठित छनोट समितिले पराजुली र भण्डारीलाई सम्मानका लागि सिफारिस गरेको हो।

पत्रकार पराजुली झण्डै तिन दशकदेखि पत्रकारितमा सक्रिय हुनुहुन्छ। नेपाल पत्रकार महासङ्घ र प्रेस युनियनको पूर्व केन्द्रीय उपाध्यक्ष पराजुली न्युनतम पारिश्रमिकको अध्यक्षसमेत भइसक्नुभएको छ। उहाँ पछिल्लो समय नेपाली काँग्रेसको राजनितिमा सक्रिय  हुनुहुन्छ। त्यसैगरी पत्रकार राजु भण्डारी पत्रकार स्व. गजेन्द्र भण्डारीका भाइ हुनुहन्छ। उहाँ गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कारका संस्थापक हुनुहुन्छ भने पत्रकार महासंघ कास्कीको निर्मित भवनमा राजुकक्ष राखेर दाताको रुपमा स्थापित हुनुहुन्छ।

कार्यक्रममा सम्मानित व्यक्तित्व गङ्गाधर पराजुली, राजु भण्डारी, महासघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, विभिन्न प्रेस सङ्गठन, सङ्घसंस्थाका प्रतिनिधिलगायतले पत्रकारितामा देखिएका समस्या र उपाय विषयमा आआफ्ना भनाइ राख्नुभएको थियो।