• १५ वैशाख २०८१, शनिबार

क्रिप्टो संस्थापक ब्याङ्म्यान-फ्राइडलाई २५ वर्ष जेल सजाय

blog

न्यूयोर्क, चैत १६ गते । क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान-फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ । 

अमेरिकी जिल्ला न्यायाधीश लेविस कप्लानले फ्राइडले आफूमाथि लागेका आरोपप्रति कुनै पश्चाताप नमानेको बताउनु भएको छ । छोटो अवधिमै अर्बपतिको सूचीमा परेका फ्राइडले जानाजान वित्तीय कानुनहरु आफूले उल्लङ्घन नगरेको दाबी गर्दै आएका थिए । फ्राइडले अदालतसामु आफूले गल्ती भएको स्वीकार गरेपनि वित्तीय अपराध गरेकामा कुनै पश्चाताप गरेका थिएनन् । 

न्यायाधीश कप्लानले फ्राइडलाई २५ वर्षको जेल सजाय तोक्नुका साथै अरु तीन वर्ष पनि निगरानीमा राख्ने गरी आदेश दिनु भएको छ । फ्राइडलाई ११ अर्ब अमेरिकी डलर भुक्तानी गर्न पनि आदेश दिइएको छ । उनले यो रकम विभिन्न व्यक्ति एवम् संस्थाबाट चोरी गरेको अदालतले ठहर गरेको थियो । फ्राइड छोटो अवधिमै क्रिप्टोको दुनियाँमा माथि पुगेका थिए, र उनी ३० वर्ष नपुग्दै अर्बपति भएका थिए । 

सन् २०१९ मा सानो स्टार्टअपका रुपमा सुरु गरेको एफटिएक्स क्रिप्टोलाई विश्वकै दोस्रो ठूलो क्रिप्टो करेन्सीमा रुपान्तरण गर्न उनी सफल भएका थिए । तर नोभेम्बर २०२२ मा फ्राइडको ओरालो यात्रा सुरु भएको थियो । अलामेडा रिसर्चका अनुसार, फ्राइडले एफटिएक्सबाट अर्बौ डलर आफ्नो निजी हेज फन्डमा सारेका थिए । रासस/एएफपी