• १५ वैशाख २०८१, शनिबार

नगरलाई पूर्ण खोप, पूर्ण साक्षर र बालमैत्री घोषणा गरिसकेका छौँ

blog

रौतहट जिल्लाका १६ वटा नगरपालिकामध्ये क्षेत्रफलको दृष्टिकोणले दोस्रो ठुलो नगरपालिका गुजरा नगरपालिका हो । बकैया, घाघी, लमहा, सथियारी र धनसार खोलाले छोएको यो नगरपालिकाको मध्यभागमा रहेको गुजरा खोलाको नामबाट गुजरा नगरपालिका नामकरण गरिएको हो । नौ वटा वडा रहेको यस नगरपालिकाको कुल क्षेत्रफल १५०.३३ वर्ग किलोमिटर रहेको छ । स्थानीय तहको २०७४ सालको पहिलो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट र २०७९ को दोस्रो निर्वाचनमा जनता समाजवादी पार्टीबाट नगरपालिका प्रमुखमा विजयी हुनुभएका सन्तलालप्रसाद चौधरीसँग गोरखापत्रका रौतहट समाचारदाता यादवराज पुरीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

नगरपालिकाको प्रमुखमा दोस्रो पटक पनि निर्वाचित हुनुभयो । हालसम्म पालिकामा गरिएका महत्वपूर्ण काम के के छन् ? 

पहिलो पटक निर्वाचित भएपछि नगरभित्र सडक विस्तारभन्दा बढी खासै त्यस्ता महìवपूर्ण काम हुन सकेनन् तर पनि विकास निर्माणका योजना प्रशस्तै बनाइयो । कोरोना महामारीले गर्दा स्वास्थ्य क्षेत्र सुधारमा समय लाग्यो । कोरोनाकै कारण शिक्षा, कृषि तथा अन्य क्षेत्र पनि प्रभावित बन्न पुगे । दोस्रो कार्यकालको कार्यभार सम्हाल्दै गर्दा नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन निर्माण पूरा भई सेवा प्रवाह भइरहेको छ । १५ श-याको नगर अस्पतालको दोस्रो तला निर्माण हुँदै छ । बजार व्यवस्थापन र विस्तार गर्ने उद्देश्यले परसवा, मनहर्वा बजारका लागि ६० सटर भएको दुई तले ‘मल्टी कम्प्लेक्स’ भवन निर्माण भई सञ्चालन कार्य अघि बढेको छ । एक वडाबाट अर्को वडामा सहज रूपमा आवतजावत गर्न पालिकाको नौ वटै वडामा पक्की सडक विस्तार भइसकेको छ । 

हरित सहरको अवधारणा अनुरूप मूल सडक तथा सार्वजनिक जग्गामा व्यापक वृक्षरोपण गरिएको छ । कृषि तथा पशुपालक किसानको आम्दानी बढाउन सम्पूर्ण वडामा विभिन्न पकेट एरिया बनाई सामूहिक रूपमा कृषि कार्य गर्न प्रोत्साहन गरिएको छ । पालिकाको वडा नं. १, २ र ३ मा सामूहिक बाख्रापालन, भैँसी तथा गाईपालन गर्न थालेको वर्ष दिन नाघ्यो । त्यहाँका किसानले राम्रै आम्दानी लिएका छन् । अन्य वडामा पनि कार्यव्रmम अघि बढाइँदै छ । कृषकलाई मौसम अनुसार धान, मकै, गहुँलगायत विभिन्न तरकारीको उन्नत बिउ वितरण गरिँदै आएको छ भने सिँचाइ व्यवस्थापनका लागि साना सिँचाइ कार्यव्रmम अन्तर्गत ट्युबेल, पम्पसेटसहित बोरिङको व्यवस्था मिलाइएको छ । दलित किसानको आयस्तर बढाउन पशुपालनलाई महìव दिँदै पालिकाले तीन वर्षका लागि १५ जना पशुविज्ञको नियुक्त गरेको छ । 

पर्यटन विकासको पूर्वाधारका रूपमा पालिकाको वडा नं. २ मा करिब सात बिघा क्षेत्रफलमा गुजरा फनपार्क निर्माण गरिएको छ जसको लागत एक करोड ५० लाख रुपियाँ रहेको छ । पार्कभित्रै करिब दुई करोडको लगानीमा व्यावसायिक भवनसमेत निर्माण सम्पन्न भएको छ ।

 नगरपालिकाको दिगो आन्तरिक स्रोतको अवस्था कस्तो छ ? 

नगरपालिकाको दिगो आन्तरिक स्रोत भनेको मालपोत तथा भूमिकर र सिफारिस दस्तुर रहेको छ । जसबाट वार्षिक औसत आम्दानी ६० लाख रुपियाँ जति हुन्छ । घरबहाल तथा व्यवसाय करबाट वार्षिक करिब सात लाख र इँटा नगर निकासी कर वार्षिक करिब दस लाख रुपियाँ आम्दानी हुन्छ । प्रदेश सरकारको मातहतमा रहेका नदीजन्य पदार्थको उत्खनन र बिक्रीबापतको ६० प्रतिशत राजस्व रकम नगरपालिकाको आम्दानी हुन्छ । स्थानीयस्तरमा ठुला बजार तथा व्यवसाय धेरै नभएका कारण व्यवसाय तथा घरबहाल कर न्यून मात्रामा मात्रै सङ्कलन हुन्छ । नदीजन्य पदार्थ सङ्कलन र बिक्रीवितरणमा वन कार्यालयको हस्तक्षेप रहनाले विगत दुई वर्षदेखि नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त हुन नसकेको अवस्था छ ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएका महत्त्वपूर्ण कार्य के के छन् ?

सहज र सरल रूपमा जनस्वास्थ्य सेवा विस्तार गर्न पाँच वटा उपस्वास्थ्य चौकी र पाँच वटा सहरी स्वास्थ्य चौकीको स्थापना गरिएको छ । पालिका पूर्ण खोप नगर घोषणा भएको छ । प्रसूति सेवालाई सहज बनाउन दुई वटा बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रदान गरिएको छ । इमर्जेन्सी सेवा २४ सै घण्टा उपलब्ध छ । दुई वटा एम्बुलेन्सको व्यवस्था गरिएको छ ।  

शिक्षा क्षेत्रको कुरा गर्दा नगरमा रहेका २९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास अन्तर्गत विद्यालय भवन, शौचालय र फर्निचरको व्यवस्था मिलाइएको छ । नगरका सबै विद्यालयमा बालबालिका भर्ना गराउने तथा भर्ना भएका बालबालिकाले बिचमै विद्यालय नछोडून् भन्ने उद्देश्यले नियमित दिवा खाजा, पोसाक तथा स्टेसनरीको व्यवस्थापन गरिएको छ । ‘सिटिइभिटी’ बाट पढाइने प्राविधिक शिक्षा तथा काठमाडौँमा माथिल्लो तह अध्ययन गर्ने विद्यार्थीका लागि नगरपालिकाबाट छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

नगरपालिकामा कस्ता कस्ता चुनौती छन् ? 

नगरपालिकाको आन्तरिक आयस्रोत अत्यन्तै कम छ । नगरपालिकामा विभिन्न दलका जनप्रतिनिधि रहेका कारण दलीय किचलो हुने, वडाको बजेट विनियोजनमा विवाद हुने र योजना तथा विकास कार्यमा समेत विवाद उत्पन्न भई निर्णय गर्न कठिनाइ हुने जस्ता समस्या चुनौतीकै रूपमा रहेका छन् । केन्द्रबाट खटाइएको प्रमुख प्रशासकीय अधिकृतमा स्थानीय भाषाको ज्ञान नहुँदा पनि ठुलै चुनौती बेहोर्नु पर्छ ।

गुजरा नगरपालिकालाई सक्षम र सबल बनाउन तथा यसको दिगो विकास गर्न के के योजना ल्याउनु भएको छ ?

नगरपालिका पूर्ण खोप, पूर्ण साक्षर र बालमैत्री घोषणा भइसकेको छ । यी यसका सबल पक्ष हुन् । यसका अतिरिक्त नगरको दिगो विकास गर्न पहिलो प्राथमिकतामा व्यवस्थित सहरीकरण परेको छ । हरेक घरमा शुद्ध खानेपानी तथा पूर्ण सरसफाइलाई पनि प्राथमिकतामा राखिएको छ । गरिब, दलित एवं विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा, बालविवाह र लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रम योजनामै परेका छन् । यसै गरी एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत कृषि रोजगारीको सिर्जना गरी पालिकाका दलित तथा गरिब युवालाई विदेश पलायन हुनबाट रोक्ने तयारीमा नगरपालिका अग्रसर छ ।