• १५ वैशाख २०८१, शनिबार

एकासी हजारभन्दा बढी परीक्षार्थी

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, चैत १५ गते । मधेश प्रदेशका जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुँदै छन् । चैत १५ गते अर्थात् बिहीबारदेखि सुरु भइरहेको एसइईका लागि सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ । प्रदेशभरि २९५ वटा परीक्षा केन्द्र तोकिएको छ । 

परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन २९५ केन्द्राध्यक्ष, ५३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, ८०७ परीक्षा सहायक, एक हजार ६३९ जना कार्यालय सहयोगी गरी कुल सात हजार ६५८ जना कर्मचारी खट्ने व्यवस्था मिलाइएको छ । 

प्रदेशमा सबभन्दा बढी धनुषाबाट विद्यार्थीले एसइईका लागि फाराम भरेका छन् । यस जिल्लामा प्रविधिकतर्फका ४८९ जना गरी १२ हजार २१४ जना विद्यार्थीले एसइई दिने शिक्षा निर्देशनालयले जनाएको छ । यहाँ ४३ वटा परीक्षा केन्द्र तोकिएको छ ।

शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरका अनुसार सबभन्दा कम सप्तरीमा नौ हजार ३२३ जना विद्यार्थी एसइईमा सहभागी हुने छन् । सिरहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार ४३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४ र पर्सामा १० हजार ६८ एसइईमा सहभागी हुने उहाँले बताउनुभयो ।

निर्देशक ठाकुरले परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पु-याइसकेको र प्रश्नपत्र प्रहरीको जिम्मामा पुगिसकेको बताउँदै उहाँले भन्नुभयो, “केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गराएर नियुक्ति दिई परीक्षा केन्द्रमा खटिइसक्नुभएको छ । निर्देशक ठाकुरले परीक्षालाई मर्यादित बनाउन जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिले टोली बनाएर निरीक्षण, अनुगमन गरिने व्यवस्था गरिएको बताउनुभयो । यसै गरी शिक्षा तथा संस्कृत मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायत निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाइएको उहाँले बताउनुभयो । 

सर्लाही समाचारदाता जनार्जन खत्रीका अनुसार सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय एकाइ मलङ्गवाका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो । महतोका अनुसार एसइईमा सर्लाहीबाट छ हजार ७८३ छात्रा र चार हजार ११३ छात्र गरी जम्मा १० हजार ८९६ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षा सञ्चालनका लागि ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रश्नपत्र भने परीक्षा केन्द्र नजिकको प्रहरी चौकीमा लगेर राखिएको छ । ३८ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक अभिमुखीकरण दिएर नियुक्तिपत्र प्रदान गरी आवश्यक परीक्षा सामग्रीसहित आआफ्नो परीक्षा केन्द्रमा खटाइएको निमित्त एकाइ प्रमुख महतोले बताउनुभयो । 

एसइई सञ्चालनका लागि जिल्लामा एक हजार १६ जना जनशक्ति परिचालन हुने छन् । परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने जिल्लास्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताउनुभयो ।

ढल्केबर समाचारदाता विजयकुमार साहका अनुसार धनुषा जिल्लामा ४८९ जना प्राविधिकतर्फका गरी १२ हजार २१४ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ धनुषाका अनुसार एसइईमा छ हजार ४०६ जना छात्र र पाँच हजार ८०८ जना छात्रा सहभागी हुने छन् । परीक्षाका लागि ४३ वटा केन्द्र तोकिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडेरियाले सम्बन्धित विद्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र नजिकको सुरक्षा निकायमा पठाइएको जानकारी दिनुभयो । 

बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष करिब ४.१६ प्रतिशतले वृद्धि भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय महोत्तरीका अनुसार जिल्लाबाट नौ हजार ४३१ जना विद्यार्थी सहभागी हुने छन् । यसमध्ये नियमित साधारणतर्फ आठ हजार ८३१, प्राविधिकतर्फ ४८४ र ग्रेड वृद्धितर्फका परीक्षार्थीको सङ्ख्या १०९ जना रहेको छ । यो वर्ष एसइई दिने छात्राको सङ्ख्या चार हजार ६६० रहेको एकाई कार्यालय परीक्षा फाँटका पङ्कज झाले बताउनुभयो ।

गत वर्ष २०७९­ जिल्लाबाट एसइई दिनेको सङ्ख्या नौ हजार ५४ मात्र थियो । एकाइ प्रमुख प्रतिभाकुमारी साहका अनुसार गत वर्षको तुलनामा दुई वटा केन्द्र थप भई यो वर्ष परीक्षा केन्द्रको सङ्ख्या ३२ पुगेको छ । तोकिएका केन्द्रमध्ये रामनारायण अयोध्या मावि पिपराबाट सबैभन्दा बढी ४२४ तथा सबैभन्दा कम दुर्गा मावि पथलैयाबाट १९१ जना विद्यार्थी सहभागी छन् । महोत्तरीका १०२ सामुदायिक तथा ३० संस्थागत गरी १३२ माध्यमिक विद्यालयले यो वर्ष एसइईमा विद्यार्थी सहभागी गराएका छन् । 

केन्द्र निर्धारणलगत्तै परीक्षा समन्वय समितिको बैठकले ३२ केन्द्राध्यक्ष, ६२ सहकेन्द्राध्यक्ष, ८९ परीक्षा सहायक, ४४७ निरीक्षक र १७८ कार्यालय सहयोगी गरी ८०८ जना परीक्षाकर्मी खटनपटनको तयारी गरेको छ । यो पटक महोत्तरीको जनता मावि बिजलपुरामा मात्र महिला केन्द्राध्यक्ष तोकिएको छ । त्यहाँ प्रधानाध्यापक ममता काफ्लेलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसइईलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन सुरक्षाको सम्पूर्ण व्यवस्थापन मिलाइएको दाबी गर्नुभयो ।